काठमाडौं- मनसुनको सुरुवातसँगै पानीजन्य तथा किटजन्य रोगहरूको संक्रमण बढ्ने गर्दछ। विशेषगरी यतिबेला झाडापखाला, हैजा, डेंगु, स्क्रब टाइफस, हेपाटाइटिस लगायतका रोगहरूको जोखिम बढ्ने चिकित्सकहरू बताउँछन्।
पर्याप्त मात्रामा तयारीको कमी तथा जनशक्ति अभाव लगायतका विभिन्न समस्याका कारण विगतदेखि नै सरकारले मनसुनजन्य समस्याको सही रूपमा व्यवस्थापन गर्न सकेको छैन। विपद्को समयमा सरकार सधैँ चुक्ने गरेको स्वास्थ्य क्षेत्रका सरोकारवालाहरूले बताउँदै आएका छन्। विज्ञहरुको चिन्ता छ- विगतमा झैँ यस वर्ष पनि सरकारले मनसुनजन्य समस्याका लागि पर्याप्त मात्रामा तयारी गरेको देखिँदैन।
पानीजन्य रोगको जोखिम कम गर्न अनुगमन आवश्यक
वर्षात्मा प्रमुख रूपमा किटजन्य रोगमा डेंगु र स्क्रब टाइफस तथा पोष्ट मनसुनमा डेंगु संक्रमण उच्च हुने गरेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। हैजा, झाडापखाला, टाइफाइड, हेपाटाइटिस लगायतका पानीजन्य रोग पनि यतिबेला अन्य समयको तुलनामा बढी मात्रामा देखिने गरेको उनले जानकारी दिए।
'वर्षात्मा पानीजन्य तथा किटजन्य रोग सँगसँगै देखिन्छन्,' डा. पुनले भने, 'त्यसका लागि खानेपानीको अनुगमनलाई बढाउन आवश्यक छ।'
जार र बोतलको पानीका कारण विगतमा पनि हैजाको संक्रमण फैलिएको इतिहास भएकाले अनुगमन बढाउन उनको सरकारलाई सुझाव छ। पानीको नमुना परीक्षण कार्य अगाडि बढाउन समेत आवश्यक रहेको उनी बताउँछन्। किटजन्य रोग कीराको टोकाइका कारणले लाग्ने भएकाले लामखुट्टेको नियन्त्रणमा ध्यान दिनुपर्ने उनी बताउँछन्।
रोग नियन्त्रणका लागि सरकारको प्रयासले मात्रै सम्भव नहुने भएकाले सर्वसाधारणहरूले पनि उत्तिकै ध्यान दिनुपर्ने उनको धारणा छ। स्क्रब टाइफसबाट जोगिन शरीर पूरै ढाक्ने कपडा लगाएर मात्रै खेतबारीमा काम गर्न उनी सुझाउँछन्।
यतिबेला आउने स्वास्थ्य समस्याका कारण महामारीको रूप सिर्जना नहोस् भन्नका लागि सरकारले खानेपानीको नियमित अनुगमन, डेंगु नियन्त्रणका लागि अहिलेदेखि नै लामखुट्टेको नियन्त्रण जस्ता कार्य गर्नुपर्ने उनी बताउँछन्। डेंगु नियन्त्रणका लागि स्थानीय सरकार पनि सक्रिय हुनुपर्ने उनको धारणा छ।
'मन्त्रालयले मानवीय र भौतिक क्षति नहोस् भन्ने अभिप्रायले काम गरिरहेको छ'
मनसुनजन्य समस्याबाट जोगिन सरकारले सबै निकायहरूसँग जोडिएर कार्ययोजना बनाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी बताउँछन्। जसमा स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, उपकरण, स्वास्थ्यकर्मीको क्षमता र अन्य सामग्री लगायतका विषय समावेश गरिएको उनले जानकारी दिए। अन्य विषयमा समन्वयका लागि म्यापिङ समेत गरिएको उनले जानकारी दिए।
जार तथा बोतलका पानीको अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिल भएका सबै पानीहरू परीक्षण तथा अनुगमन गर्ने काम निरन्तर रूपमा गर्दै आइरहेको उनको दाबी छ।
'साथै पानी व्यवस्थापन गर्ने तथा स्थानीय तहहरूमा आपूर्ति हुँदै आएको पानीको परीक्षण समेत विभागले गर्दै आइरहेको छ,' उनले भने, 'सर्वसाधारणका लागि सचेतनाको काम गर्ने, पानी कस्तो प्रयोग गर्ने भन्ने जानकारी पनि राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रबाट सूचना जारी गरेर गरिरहेका छौँ।'
कतिपय अवस्थामा सिल भएको पानी स्वस्थ भए पनि खन्याउने भाँडो फोहोर भएमा तथा समाउने हात फोहोर भएमा पनि रोगको सम्भावना बढ्ने उनले जानकारी दिए। रोग लाग्नुमा पानीको स्रोत, ढुवानी गर्ने भाँडाकुँडा, भण्डारण गर्ने स्थान र प्रयोग गर्ने मानिसको व्यवहार लगायतका विषय समेत जोडिने उनी बताउँछन्।
व्यक्ति, स्थानीय तह तथा स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा काम गरेमा पानीजन्य रोगहरूबाट जोगिन सहज भएकोले सहकार्य आवश्यक भएको उनको धारणा छ। नियमित रूपमा प्रयोग गर्दै आएका पानीका स्रोतहरू पनि वर्षात्को समयमा संक्रमित हुन सक्ने भएकोले सजग हुन उनको अनुरोध छ। स्वास्थ्य मन्त्रालयले मानवीय तथा जनधनको शून्य क्षति होस् भन्ने लक्ष्यका साथ काम गरिरहेको उनको दाबी छ।
जनशक्तिको व्यवस्थापन र रोग निगरानीको प्रणालीलाई सशक्त बनाएका छौँ: इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
मनसुनजन्य स्वास्थ्य समस्याका कारण हुने जोखिमलाई कम गर्नका लागि सरकारले लामो समयदेखि तयारी गरिरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. अनुज भट्टचन बताउँछन्।
करिब एक महिना अगाडिदेखि नै स्थानीय तहहरूसँग संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत महाशाखाले समन्वय गरिरहेको उनले जानकारी दिए।
औषधि एवं परीक्षण सामग्री लगायतका विषयमा पनि आन्तरिक तयारी भइरहेको उनी बताउँछन्। र्यापिड रेस्पोन्स टिम (आरआरटी) खटाउने तथा मेडिकल टिमको तयारीका विषयमा सातै प्रदेशका जिम्मेवार व्यक्तिहरूसँग समन्वय समेत भइसकेको उनको दाबी छ।
'यसका लागि पालिकालाई नै जिम्मेवार बनाउने गरी काम भइरहेको छ,” उनले भने, “कतिपय पालिकाले डेंगु नियन्त्रणका काम समेत सुरु गरिसकेका छन्।'
जिल्लाका र्यापिड रेस्पोन्स टिमलाई बोलाएर महाशाखाले विभिन्न तालिम समेत दिइसकेको उनको दाबी छ। विशेषगरी पानीजन्य रोगहरू र तिनको रोकथामका लागि सचेतनामूलक कार्य पनि भइरहेको उनी बताउँछन्।
जनशक्तिको व्यवस्थापन र रोग निगरानीको प्रणालीलाई सशक्त बनाई काम भइरहेको उनले जानकारी दिए।
मनसुनमा देखिने प्रमुख स्वास्थ्य समस्याहरू:
पानी र खानाबाट सर्ने रोगहरू: दूषित पानी र खानाको कारण झाडापखाला, टाइफाइड र जन्डिसको जोखिम उच्च हुन्छ।
लामखुट्टेको टोकाइबाट लाग्ने रोग: जमेको पानीमा लामखुट्टे हुर्कने हुँदा डेंगु, मलेरिया र चिकनगुनिया जस्ता रोगहरू फैलिन्छन्।
रुघाखोकी र भाइरल ज्वरो: मौसम परिवर्तन र चिसो–तातोका कारण सामान्य रुघाखोकी, भाइरल ज्वरो र श्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्छन्।
छालाको संक्रमण: निरन्तर ओसिलो वा पानीले भिज्ने ठाउँमा बस्दा दाद, चिलाउने, फंगल इन्फेक्सन जस्ता समस्याहरू देखिन सक्छन्।