संसारका हरेक सजीव तथा निर्जीव वस्तुको निर्माण पन्चतत्वबाट बनेको हुन्छ । पृथ्वी (माटो), आप (पानी), तेज (अग्नि), वायु र आकाश यी पन्चतत्वको समिश्रणबाट नै संसारको निर्माण हुन्छ । मानव शरीर पनि यिनै पन्चतत्वबाट बनेको हुन्छ । यी तत्वको सन्तुलन बिग्रियो भने रोग लाग्छ।
प्राकृतिक चिकित्सामा यी पन्चतत्वको प्रयोग गरि रोग निदान गरिन्छ । माटोको प्रयोग गरी उपचार गरिने पद्दतिलाई माटो चिकित्सा भनिन्छ जसको प्राकृतिक चिकित्सामा आफ्नै विशेष स्थान छ।
माटो चिकित्सा आफैमा एक अदभूत चिकित्सा पद्दति हो । यस विधिमा जमिनबाट निकालेको विशेष खालको माटोको प्रयोग गरि विभिन्न रोगको उपचार गरिन्छ । यो सरल र सस्तो प्राकृतिक उपचारमध्ये एक विधि हो । यस चिकित्सामा माटोलाई लेप, प्याक र पूरा शरीर स्नानको रुपमा प्रयोग गरी वाथ, छाला, मुटु, श्वासप्रस्वास आदि रोगको उपचार गरन्छ । साथसाथै शरीर शुद्धिकरण गर्न पनि प्रयोग गर्न सकिन्छ।
माटो चिकित्सा पूरानो तथा सरल चिकित्सा हो । पूर्वीयसभ्यतामा यसको प्रयोग वैदिक कालदेखि भएको पाइन्छ भने आधुनिक युगमा यसको लोकप्रियता पश्चिम देशहरुमा बढिरहेको पाइन्छ। नेपाल र भारतका सबैजसो प्राकृतिक अस्पतालमा यसको प्रयोग नियमित रुपमा गरिन्छ। प्रायजसो पेट र आँखाको चिसो पट्टीको रुपमा यसको प्रयोग गरिन्छ।
माटोका किसिमः
यो चिकित्साका लागि चाहिने माटो जमिनदेखि ५ देखि ६ फिट मुनिबाट निकालिन्छ । माटोमा बालुवा कंकर ढुंगा आदि मिसिएको हुनुहुँदैंन । यसरी निकालिएको माटोलाई घाममा सुकाइन्छ र धुलो बनाइन्छ । त्यसपछि आवश्यकताअनुसार माटोलाई चिसो पानीमा वा तातो पानीमा भिजाएर राखिन्छ र रोगअनुसार लेपन, प्याक वा स्नानको रुपमा प्रयोग गरिन्छ।
माटो चिकित्साका फाइदा
माटो हाम्रो शरीरको जन्मदाता र पालनकर्ता दुवै हो। यसलाई चिकित्साको रुपमा शरीरमा लगाउँदा स्वर्गीय आनन्दको अनुभूति हुन्छ र शरीरलाई पूर्ण पृथ्वीसंग जोडिदिन्छ र शरीरलाई स्फूर्त बनाइदिन्छ । माटोमा हुने ब्याक्टेरीयाहरुले हाम्रो दिमागबाट आनन्ददायी हार्मोनहरु निकाल्न मद्दत गर्दछ फलस्वरुप हामी आनन्दित हुन्छौं।
छालालाई राम्रो सुन्दर र मुलायम बनाउँछ । सुख्खापन हटाउँछ । छालामा भएका पसिनाका ग्रन्थीलगायत अन्य ग्रन्थी सक्रिय बनाउँछ । छालाबाट निस्कासित हुनसक्ने शरीरका हानिकारक तत्वलाई निस्कासित गर्दछ । रक्तसंचार बढाउँछ । अनुहारको दाग, धब्बा, चाँया आदि हटाई अनुहार सुन्दर बनाउँछ।
भित्री अंगमा जमिरहेको अतिरिक्त रगत निकाली मुल रक्तसंचारमा मिसाइदिन्छ र रगत जमेर हुने दुखाइहरुमा चामत्कावरिक लाभ मिल्छ । शरीरलाई शितलता प्रदान गर्दछ । शरीरबाट गर्मी भगाउँछ । श्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँछ । श्वासप्रश्वास गहिरो बनाई रगतमा अक्सिजनको मात्रा बढाउँछ र कार्वनडाइअक्साइडको मात्रा घटाउँछ।
शरीरमा रक्तसंचार बढाउँछ । विकार हटाई शरीर शुद्धिकरण गर्न मद्दत गर्दछ।
रक्तचाप नियन्त्रणमा ल्याउँछ । मुटुको धड्कनलाई सामान्य बनाउँछ । गहिरो निन्द्रा प्रदान गर्दछ । तनाब तथा हिनताबोध घटाउँछ।
हाडजोर्नीको समस्यामा एकदम लाभकारी हुन्छ । आर्थराइटिस वा वाथको समस्यामा फाइदा पुर्याउँछ । रगतमा क्याल्सियमको मात्रा बढाउँछ । ओस्टियो आर्थराइटिसको समस्यामा पनि फाइदा पु¥याउँछ । पेट तथा आन्द्राको तापक्रम सामान्य बनाउँछ। कब्जियतको समस्यामा आराम प्रदान गर्दछ। टाउको दुखाईहरुमा चामत्कारिक लाभ मिल्दछ।
(यो लेख जानकारीका लागि मात्र हो । विस्तृत प्रयोगका लागि संम्बन्धित योग तथा प्राकृतिक चिकित्सकसँग परामर्श लिनुहोला)