बैतडी- बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन्।
जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन्।
निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरियाले जानकारी दिए। बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महतासहित तीन, चारजनाले माइन्यूट च्यातेर हातपात गरेको शिवनाथ गाउँपालिका नायब सुब्बा वीरसिंह महताले जानकारी दिए।
उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज शिवकुमार कठरिया, वडा नं ४ का वडाध्यक्ष लक्ष्मणसिंह महता र शिवनाथ गाउँपालिकाका नायब सुब्बा वीरसिंह महतामाथि हातपात भएको हो । ‘आफूहरुमाथि हातपात भएपछि गाउँमा काम गर्नै समस्या भएको छ,’ उनले भने।
निर्देशिका अनुसार वडास्तरमा रहेका स्वास्थ्यचौकीको व्यवस्थापन समिति सम्बन्धित वडाको वडा अध्यक्षको अध्यक्षतामा गाउँपालिका अध्यक्ष संरक्षक रहने गरी समिति गठन गर्नुपर्ने व्यवस्था रहेको छ।
हातपात गर्ने समूहले आफूहरुले निर्देशिका नमान्ने बताएको स्वास्थ्यचौकी इन्चार्ज कठरियाले जानकारी दिए। यता बजार व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर महताले आफूहरुले कसैमाथि हातपात नगरेको दाबी गरे।
आफूहरुले प्रक्रियागत हिसाबले बैठक बसालेर समिति गठन गर्न आग्रह गरेको तर उनीहरुले नमानेको र स्वास्थ्यचौकीका अहेव देवराज न्यौपानेले माइन्यूट च्यातेको आरोप उनले लगाए।
उपभोक्ता समितिका पदाधिकारीहरुको तालीममै स्वास्थ्य व्यवस्थापन समिति गठन गर्न लागेकाले आफूहरुले असहमति जनाएको तर हातपात गरेको आरोप झुठा भएको वडा सदस्य टीकाराम कोलीले जानकारी दिए। रासस