काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक डाक्टर गोविन्द शर्माको ७१ वर्षको उमेरमा निधन भएको छ।
त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका डा शर्माको रसियामा निधन भएको हो। उनी पछिल्लो समय उतै बस्दै आएका थिए।
डा शर्मा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको प्रमुख कार्यकारी अधिकृत समेत भएका थिए। तीन वर्षअघि त्यहाँबाट जागिर छाडेपछि उनी रसिया गएका आएका थिए। उनको विवाह रसियन महिलासँग भएको थियो।
शर्माले २०२० सालमा सरकारी छात्रवृतिमा रूसको लेलिनग्राथ कलेजमा एमबिबिएस पढेका थिए। त्यसपछि नेपाल फर्केका उनले वीर अस्पतालमा एक वर्ष काम गरे। अस्पतालमा ६ महिना शल्यक्रिया विभागमा र ६ महिना स्त्रीरोग विभागमा काम गरेपछि उनी एमडिएमएस गर्न पुन: रुस गए। अध्ययन पूरा गरेर नेपाल फर्केका उनी २०५३ देखि तीन वर्षसम्म त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक भए। शर्मा २०५९ सालमा त्रिविको उपकुलपति भएका थिए।
प्रा डा शर्माले चिकित्सा शास्त्र अध्ययन संस्थानमा सर्जरी विषयमा लामो समय प्राध्यापन समेत गरेका थिए।
कलेजो फेल भएपछि उनको २०६८ सालमा भारतमा कलेजो प्रत्यारोपण गरिएको थियो। उनलाई आफ्नै भान्जी शान्ता दाहालले कलेजो दान गरेकी थिइन्।