काठमाडौं– बंगलादेशको विमान दुर्घटनामा आफ्नो २४ वर्षीया छोरी गुमाएकी उर्मिला प्रधान बुधबार विस्मित देखिन्थिन्। उनी विगत दुई दिनदेखि छोरी श्वेता थापाको शव बुझ्न महाराजगञ्जस्थित टिचिङ अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन्। श्रीमानसँग पारपाचुके भएको बताउने उर्मिलाले श्वेतालाई हुर्काउने र पढाउने सबै काम आफूले नै गरेको बताइन्। उनले आफ्नो छोरीलाई चिकित्सक बनाउन राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन्।
गोदावारी टौखेल निवासी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन्। होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो।
श्वेता अध्ययन पूरा गरेर फर्किंदै थिइन्। उनले काठमाडौं आएपछि आमालाई चन्द्रागिरी र पोखरा जाने योजना बनाउन भनेकी थिइन्। छोरी फर्किने दिन उनलाई लिन त्रिभुवन विमानस्थलमा आफू धेरै अगाडि पुगेको बताउँदै उनले भनिन्, ‘बंगलादेशको विमान ल्यान्ड हुँदैछ भन्ने सूचना आयो। अब ४० मिनेटपछि बाहिर आउँछे भनेर खुसी भएको थिएँ।’
तर, त्यसको केही मिनेटमै विमान दुर्घटनाग्रस्त भएको खबर आयो। ‘सबै खत्तम भयो’, आँखा आँसुले डम्म पार्दै आमाले भनिन्।