काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। यसअघि माओवादी केन्द्र सहभागी सरकारमा मधेसवादी दल संघीय समाजवादी फोरम र राजपालाई समेत समेटेर सरकार विस्तारको तयारीमा ओली लागेका हुन्। तर, आज राजपा सरकारमा जाने सम्भावना भने निकै कम छ।
प्रधानमन्त्री ओलीले आज एमाले, माओवादी केन्द्र र फोरमबाट नयाँ मन्त्रीको सपथ खुवाउने कार्यक्रम छ। सरकार विस्तार र मन्त्रालय थपबारे प्रधानमन्त्री ओलीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका थिए। स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा एमालेबाट प्रदीप ज्ञवाली, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, योगेश भट्टराई, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, भानुभक्त ढकालको नाम चर्चामा छ। कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाममा पनि पार्टीभित्र छलफल भएको छ।
यस्तै माओवादी केन्द्रबाट बिना मगर, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलको सम्भावना छ।
संघीय समाजवादी फोरमबाट आजै सरकारमा सहभागी हुने तयार भए पनि नाम टुंगो लाग्न सकेको छैन।
यी मध्ये स्वास्थ्य मन्त्रालयको जिम्मेवारी एमालेले नै लिने लगभग पक्का भएको छ। तर, राजपा सरकारमा जाने पक्का भयो भने स्वास्थ्यको जिम्मेवारी राजपाले लिन सम्भावना पनि उत्तिकै रहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ। तर, राजपा सरकारमा आउने निश्चित नभएका कारण आज विस्तार हुने मन्त्रीपरिषद्मा प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालयमा पनि मन्त्री नियुक्त गर्ने सम्भावना बढी रहेको पाइएको छ।
तर, अहिलेसम्म स्वास्थ्य मन्त्री कसलाई दिने भन्ने नाम सार्वजनिक भइसकेको छैन। स्वास्थ्य मन्त्रीमा लालबाबु पण्डित, प्रदिप ज्ञवाली, रविन्द्र अधिकारी, रघुविर महासेठ र गोकुल बाँस्कोटाको नाम चर्चामा छ। तर लालबाबु पण्डित वन तथा वातावरण मन्त्रीकै रुपमा बस्न चाहेपछि स्वास्थ्यमा माओवादीले पनि दाबी गरिरहेको स्रोत बताउँछ।
फागुन ३ गते नियुक्त प्रधानमन्त्री ओलीको सरकारमा हालसम्म ७ मन्त्री मात्र सहभागी छन्। फागुन ३ गते नियुक्त भएका प्रधानमन्त्री ओलीले लालबाबु पण्डित, थममाया थापा, ईश्वर पोखरेल, डा युवराज खतिवडा, रामबहादुर थापा र मातृका यादवलाई मन्त्रालयको जिम्मेवारी दिइसकेका छन्। नयाँ मन्त्रिपरिषद्मा एमालेले प्रधानमन्त्री कार्यालयसहित ११ र माओवादीले ७ मन्त्रालयमा सहमति गरेका थिए।
मधेसवादी दललाई समेत सहभागी गराउँदा कम्तीमा तीन वटा मन्त्रालय थप गर्ने तयारीमा ओली रहेको स्रोत बताउँछ।