काठमाडौं
प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। स्रोतका अनुसार आजै दिउँसो ४ बजे नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण हुनेछ।
एमालेका ७, माओवादी केन्द्रका ५ र संघीय समाजवादी फोरमका २ मन्त्रीले आज सपथ लिने भएका छन्। आज १४ जना मन्त्री थपिएपछि ओली मन्त्रिमण्डल अब २१ सदस्यीय हुने भएको छ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा एमालेबाट प्रदीप ज्ञवाली, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, योगेश भट्टराई, लीला श्रेष्ठ, गोकुल बाँस्कोटा, भानुभक्त ढकालको नाम चर्चामा छ। कृष्णगोपाल श्रेष्ठ, नारदमुनि रानाको नाममा पनि पार्टीभित्र छलफल भएको छ।
यस्तै माओवादी केन्द्रबाट बिना मगर, जनार्दन शर्मा, वर्षमान पुन, शक्तिबहादुर बस्नेत, गिरिराजमणि पोखरेलको सम्भावना छ।
संघीय समाजवादी फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्री हुने भएका छन्।
स्रोतका अनुसार यादव सहरी विकास मन्त्री र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्री हुन लगभग पक्का भएको छ। यद्यपी यादवले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाए भने यसमा फेरबदल हुनसक्ने सम्भावना पनि रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै ३० वटा मन्त्रालय घटाएर १७ मा झारिएको थियो । तर, दलहरुको भागवण्डा मिलाउन फेरि मन्त्रालय थपिएको छ ।
थपिएका मन्त्रालयहरुमा सिँचाई, युवा तथा खेलकुद र श्रम तथा रोजगार छन् । शिक्षा, विज्ञान प्रविधि र युवा तथा खेलकुद फुटाइएको छ र अब शिक्षा र युवा तथा खेलकुद अलग लजग मन्त्रालय भएका छन् ।
श्रम, रोजगार तथा महिला, बालबालिका मन्त्रालयलाई फुटाइएको छ । अब श्रम तथा रोजगार र महिला तथा बालबालिका अलगअलग मन्त्रालय भएका छन् ।
संविधानमा संघीय मन्त्रिपरिषद्मा बढीमा २५ सदस्यीय हुने प्रावधान छ ।