पोखरा- पोखरा लेखनाथ महानगरपालिकाले महानगरभित्रका ज्येष्ठ नागरिकको नि:शुल्क स्वास्थ्य परीक्षण कार्यक्रमलाई औपचारिक रुपमा सुरु गर्ने भएको छ।
सुरुवातमा महानगरका ३३ वडाका वडा कार्यालयमा स्वास्थ्य परीक्षण गरिने र आवश्यकता अनुसार ज्येष्ठ नागरिकको घरमा नै पुगेर सेवा दिइने महानगर प्रमुख मानबहादुर जिसीले बताए। उनका अनुसार हरेक दुई महिनामा चिकित्सक सहितको टोलीले स्वास्थ्य परीक्षण गर्नेछ।
परिणाममुखी कार्यक्रम गर्ने लक्ष्यका साथ अगाडि बढेको भन्दै जिसीले निकट भविष्यमा बालबच्चालक्षित शिविर पनि सञ्चालन गर्ने जानकारी दिए।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा परिभाषित गरेको सन्दर्भमा हरेक नागरिकले स्वस्थ भई बाँच्ने वातावरण बनाउन गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न लागिएको महानगरले जनाएको छ।
महानगरभित्र ६० वर्षभन्दा माथिका ३६ हजार र ७० वर्षमाथिका १३ हजार नागरिक रहेको प्रमुख प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलले जानकारी गराए। ७० वर्ष पुगेका नागरिक लक्षित भए पनि ६० वर्ष पुगेका नागरिकले समेत सुविधा लिन सक्ने उनको भनाइ छ। शिविरमा पुगेका बिरामीको थप परीक्षण र उपचार आवश्यक देखिए नजिकका अस्पतालमा रिफर गरिने पौडेलले बताए।
वडा नं १९ पुरन्चौरबाट सेवा सुरु गर्ने महानगरले जनाएको छ। सम्बन्धित वडाका वडाध्यक्षले महानगरको स्वास्थ्य सेवा महाशाखासँग समन्वय गरेर मिति र स्थान निर्धारण गरिने स्वास्थ्य महाशाखाका प्रमुख हेमन्त शर्मा पौडेलले बताए।
महानगरभित्र १९ वटा हेल्थपोस्ट र स्तरोन्नति भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा रहेका छन्।