काठमाडौं- प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन्। आजै दिउँसो ४ बजे हुने भनिएको नवनियुक्त मन्त्रीहरुको सपथ डेढ घण्टापछि सरेको छ। राष्ट्रपति कार्यालयका अनुसार साँझ साढे पाँच बजेमात्र सपथको तयारी भइरहेको छ।
एमालेका ७ र माओवादी केन्द्रका ५ मन्त्रीले आज सपथ लिने भएका छन्। संघीय समाजवादी फोरम भने आज सरकारमा नजाने भएको छ। केपी ओली सरकारले फोरमलार्इ २ मन्त्रालय दिने तयारी गरेको छ। फोरमबाट अध्यक्ष उपेन्द्र यादव र सहअध्यक्ष राजेन्द्र श्रेष्ठ मन्त्रीका रुपमा अगाडि आएका छन्।
यादव सिँचाइ र श्रेष्ठ स्वास्थ्य मन्त्रीका रुपमा चर्चामा छन्। तर, पार्टीमा कुरा नमिलेपछि फोरम आज सरकारमा सहभागि नहुने निश्चित भएको फोरमका एक नेताले जानकारी दिए। फोरम सरकारमा सहभागि नहुने भएपछि आज स्वास्थ्यले मन्त्री पाउने सम्भावना टरेको छ।
आज विस्तार हुने मन्त्रीपरिषद्मा नेकपा एमालेले ६ मन्त्री र एक राज्यमन्त्री छानेको छ। ओली सरकारमा एमाले सचिव प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण् विष्टलाई श्रम तथा रोजगार र रविन्द्र अधिकारी पर्यटन, रघुवीर महासेठ भौतिक पुर्वाधार तथा यातायात, शेरबहादुर तामाङ कानुन र जगत विश्वकर्मालाई युवा तथा खेलकुद मन्त्री बन्ने नश्चित भएको छ। यस्तै काभ्रे २ बाट चुनाव जितेका गोकुल बाँस्कोटा ओली सरकारमा सञ्चार राज्यमन्त्री बन्ने भएका छन्। लालबाबु पण्डितलाई भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उनलाई वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
माओवादी केन्द्रले सरकारमा जाने थप मन्त्रीहरुको टुङ्गो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा पठाउने मन्त्रीको नाम प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन्।
माओवादी स्रोतका अनुसार वर्षमान पुनलाई ऊर्जा तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, गिरिराजमणी पोखरेललाई शिक्षा, शक्ति बस्नेतलाई वन, चक्रपाणी खनाललाई कृषि तथा सहकारी र विना मगरलाई खानेपानी तथा सरसफाई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
रामबहादुर थापाको नेतृत्वमा माओवादी केन्द्र सरकारमा सहभागी छ। थापाले गृहमन्त्रालय पाएका छन् भने उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको जिम्मेवारी मातृका यादवलाई दिइएको छ।