काठमडौं- काठमाडौंमा एसियन स्तरको तीन दिने ‘टिस्यु रिजेनेरेसन कंग्रेस’ सम्पन्न भएको छ। पुण्यार्जन फाउन्डेसनले नेपालमै पहिलो पटक मेडिकल र डेन्टललको संयुक्त सम्मेलनको आयोजना गरेको हो।
होटल र्याडिसनमा शुक्रबारदेखि आइतबारसम्म चलेको सम्मेलनमा विभिन्न देशका २ सय २५ जनाको सहभागिता थियो। सम्मेलनमा अमेरिका, कोरिया, ब्राजिल, चिली, थाइल्यान्ड, भारत, बंगलादेश, म्यानमार, सिंगापुर लगायतका देशका प्रतिनिधि सहभागी भएको डा सुशील कोइरालाले जानकारी दिए।
सम्मेलनका अवसरमा जटिल घाउको उचित उपचारका लागि ‘एलपिआरफ’ (ल्युकोसाइट एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधिलार्इ भित्र्याउने चिलीका डा नेल्सन आर पिन्टोलार्इ सम्मानसहित अवार्ड प्रदान गरिएको छ। फाउन्डेसनले डा पिन्टोलाई मानविय स्वास्थ्यका क्षेत्रमा उल्लेख्य योगदना गरेको भन्दै 'ह्युमानिटेरियन’ अवार्ड प्रदान गरेको हो।
कोइरालाका अनुसार यो सम्मेलनमा डा पिन्टोले ‘एलपिआरफ’ (ल्युकोसाइट एन्ड प्लेटलेट रिच फाइब्रिन) प्रविधिका विषयमा जानकारी र तालिम समेत दिएका छ।
दन्त चिकित्सा क्षेत्रमा लामो समयदेखि प्रयोग हुँदै आएको यो प्रविधि अहिले जटिल र लामो समयसम्म निको नभएका घाउको उपचारमा उपयोगी देखिएको छ। शरीरका कुनै अंगका घाउ लामो समयसम्म निको नहुँदा अंग नै काटनुपर्ने अवस्थामा पुगेका मानिसमा यो प्रविधिबाट उपचार गर्दा उल्लेख्य सुधार भइरहेको दन्त चिकित्सक डा कोइराला बताउँछन्। घाउको उपचारमा कोइरालाकै सक्रियतामा पुण्यार्जन फाउन्डेसनले पहिलोपटक यो प्रविधि प्रयोगमा ल्याएको हो।
डा नेलसन पिन्टोले चिलीबाट सुरु गरेको यो प्रविधि सन् २०१६ मार्चमा उनको नेपाल भ्रमणसँगै यहाँ भित्रिएको हो। सुरुमा कीर्तिपुर अस्पतालका डा शंकरमान राई नेतृत्वको चिकित्सक टोलीले यो प्रविधिबाट घाउको उपचार गर्न सुरु गरेको थियो। नेपालमा यस प्रविधिबारे डा विशाल कार्कीले स्नातकोत्तर तहमा थेसिससमेत तयार पारिसकेका छन्।
फाउन्डेसनको सहकार्यमा कीर्तिपुरसहित ललितपुरको लेलेस्थित आनन्दवन अस्पताल र सातदोबाटोस्थित पाटन क्लिनिकमा पनि यो प्रविधिबाट जटिल किसिमका घाउको उपचार गर्न थालिएको छ।
