पोखरा– प्रदेश नं ४ का आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले मणिपाल शिक्षण अस्पतालमा देखिएको समस्या दुबै पक्षबीच छलफल गरेर समाधान गर्नुपर्ने बताएका छन्।
विगत ९ महिनादेखि अस्पतालमा ५ बुँदे माग राखी कर्मचारीहरु आन्दोलनरत छन्। कर्मचारीको समस्या समाधान गर्ने उद्देश्यका साथ मंगलबार अस्पतालमा आयोजित कार्यक्रममा उनले आन्दोलनरत कर्मचारीका जायज मागप्रति अस्पताल प्रशासन सकारात्मक हुनुपर्ने बताए।
अस्पतालका डिन बिएम नागपालले आफूहरू वार्ताकोे माध्यमबाट समस्या समाधान गर्न तयार रहेको स्पष्ट पारे। विगतदेखि नै नेपाली तथा भारतीय चिकित्सक र कर्मचारीबीच विभेद गरिएको गुनासो आइरहने मणिपाल शिक्षण अस्पतालमा अहिले पनि त्यहाँका कर्मचारी हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्।
अखिल नेपाल स्वास्थ्यकर्मी संघको अगुवाइमा भएको आन्दोलनमा कर्मचारीको सेवासुविधा वृद्धि गर्ने, दश वर्षदेखि अस्थायी रुपमा काम गर्दै आएका कर्मचारीलाई स्थायी गर्नुपर्नेलगायत माग राखिएको छ। रासस