भक्तपुर– मध्यपुरथिमि नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रबीच मंगलबार ६ बुँदे सम्झौता भएको छ।
नगरपालिकामा भएको सम्झौतामा केन्द्रले कुनै पनि पदमा कर्मचारी करारमा भर्ना गर्दा नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत दरबन्दी दिने सहमति भएको छ।
त्यसैगरी केन्द्रबाट स्थानीयस्तरमा स्वास्थ्य तथा वातावरणीय क्षेत्रमा पर्ने प्रभाव र सोको न्यूनीकरणका लागि पूर्व सजगता र सावधानी अपनाउने सहमति भएको छ। सरकारले उपलब्ध गराएको निःशुल्क उपचारबाहेक शुल्क लाग्ने सेवा र अन्तरङ्ग सेवामा भक्तपुर जिल्लाका बासिन्दाका हकमा २५ र मध्यपुरथिमिका बासिन्दाका हकमा ७५ प्रतिशत छुट दिइने छ।
केन्द्रले हाल भोगचलन गरेको जग्गाको नगरपालिकाले आवश्यक व्यवस्थापन गर्ने, अस्पताल व्यवस्थापनमा आवश्यक सहयोग, निर्देशन तथा अनुगमन गर्ने तथा अस्पताल सञ्चालनमा समन्वय र सहकार्य गर्ने सहमति भएको छ।
नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ र र केन्द्रका निर्देशक डा केदारनरसिंह केसीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। रासस