काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले खाना निल्ने नलीको प्रेसर नाप्ने इसोफजियल म्यानोमेट्री नयाँ उपकरण नेपालमा पहिलोपटक वीर अस्पतालले चैत महिनाबाट सञ्चालनमा ल्याएको छ।
मुटुको दुखाई जस्तो हुने र छाती कस्सिएर दुख्ने भएपछि धेरैजना मुटुको डाक्टरकोमा पुग्ने गरेका छन् तर जाँच गर्दा मुटुमा समस्या नदेखिएपछि बिरामीहरु भौतारिने गरेका छन् । यो प्रविधिले खाना नलीको समस्याका कारण हुने यस्तो दुखाई पत्ता लगाउनेछ।
‘यस्तो समस्या खाना नलीको प्रेसर र एसिडका कारण पनि हुनसक्छ,’ पेटरोग विशेषज्ञ समेत रहेका अस्पतालका निर्देशक डा भूपेन्द्र कुमार बस्नेतले भने, ‘यो प्रविधिले खाना निल्ने नलिको प्रेसर नाप्न र एसिडको मात्रा पत्ता लगाउन सघाउनेछ । जसले गर्दा मुटुको समस्या कारण वा अन्य कारणले छाति र मुटुको दुखाइ महशुस भएको हो थाहा हुनेछ ।’
हालसम्म नेपालमा यस्तो समस्या पत्ता लगाउने उपकरण नभएकाले धेरैले सास्ती खेप्नु परेको उनले बताए । ‘थुप्रै मान्छेहरु यस्तो समस्याका लागि पनि मुटुको डाक्टरकोमा जान्छन् तर त्यो ज्याक ह्यामर र डिईएस भन्ने पत्ता नलागेर मान्छहरु दुःख पाइरहेका हुन्छन् ।
यही समस्या समाधानका लागि वीर अस्पतालले एसोफेजियल म्यानोमेट्री सञ्चालनमा ल्याएको हो,’ बस्नेतले भने ।
नयाँ प्रविधि भएकाले तालिम लिएर मात्रै सेवा सुरु गरिएको हो । ६ जना बिरामीको यसबाट समस्या पत्ता लगाइसकिएको अस्पतालले जनाएको छ ।