बझाङ– जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा विरामी मर्कामा परेका छन् । एकैपल्ट डाक्टर छुट्टीमा गएपछि बिरामीहरु मर्कामा परेका हुन् । जिल्ला अस्प्पताल बझाङमा ४ जना डाक्टरको दरबन्दी रहेकोेमा तीनजना डाक्टर एकपल्ट छुट्टीमा गएको जिल्ला अस्प्तालका कार्यालय प्रमुख डा अनुप रेग्मी बताउँछन् । उनले भने, ‘म पनि अस्पतालको प्रशासनिक काममा पनि खट्नुपर्छ ।’
जिल्ला अस्पताल बझाङमा कार्यरत एमडीजीपी डा अरबिन्द जोशी १५ गतेदेखि छुट्टीमा बसेका छन्। यसैगरी डा सुस्मीत शर्मा एक हप्तादेखि छुट्टीमा बसेका छन् भने डा शेर बहादुर साउँद शुक्रबारदेखि छुट्टीमा रहेको डा रेग्मीले बताए।
अस्पताल प्रमुख डा रेग्मीले डा अरबिन्द घरबिदामा र डा सुस्मित लोकसेवाको तयारीका लागि छुट्टी लिएर गएको जानकारी दिए । अर्का डाक्टर साउँद भने आइतबार आउने बताए ।
डाक्टरको अभावमा बच्चा गुमाएको गुनासो
अस्पतालमा डाक्टर नहुँदा एक सुत्केरी महिलाले आफ्नो बच्चा गुमाउनु परेको गुनासो गरेकी छिन् । खप्तडछान्ना गाँउपालिका वडानम्बर ३ बस्ने १९ बर्षिया सुनिता जोशीले आफ्नो बच्चाको मृत्यु भएको बताइन् । छान्ना स्वास्थ्य चौकीमा गर्भवती हुन नसकेपछि छान्ना स्वास्थ्य चौकीले जिल्ला अस्पतालका रिफर गरेको थियो । सुनिताले गह भरी आँसु पार्दै भनिन्, ‘शुुक्रबार नै म जिल्ला अस्पतालमा पुगिसकेकी थिएँ । यहाँ अप्रेशन गर्ने डाक्टर नै रहेनछन् । जिल्ला अस्पतालका कर्मचारीहरुले यहाँ डाक्टर छैनन् डडेल्धुरा जाउ भने।’
दुई हजार ऋण मागेर अस्पताल आएकी उनीलाई निजी सवारीले महंगो भाडा मागे । ‘जिपवालासँग कुरा गर्दा २० हजार भाडा लाग्ने बताए । मैसँग पैसा थिएन,’ उनले दुखेसो पोखिन्। उनको बच्चा उल्टो रहेकाले जिवितै जन्माउन नसकेको बताइएको छ । बच्चाको मृत्यु हुनुको कारणबारे डा रेग्मीले भने, ‘कलिलै उमेरमा विवाह गरेकी सुनीताको पाठेघर नै खुलेन । बच्चा उल्टो भएका कारण समस्या भयो ।’ सुनिताका श्रीमान् पे्रम जोशी रोजगारीका सिलसिलामा भारत छन् ।