काठमाडौं- चितवन भारतपुरस्थित भरतपुर अस्पतालको सेवा विस्तारका क्रममा सरकार नेतृत्व गरिरहेको नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले हस्तक्षेप गरेको छ।
अस्पतालले आकस्मिक कक्षमा आउने बिरामीका लागि छुट्टै प्रयोगशाला नहुँदा समस्या परेपछि आकस्मिक प्रयोगशाला सञ्चालन गर्ने निर्णय गरेको थियो। यसका लागि आवश्यक उपकरण र पूर्वाधारसमेत तयार पारिसकिएको छ।
आकस्मिक प्रयोगशालामा जनशक्ति व्यवस्थापनका लागि अस्पताल विकास समितिको बैठकले कानुनी प्रक्रिया पूरा गर्दै परीक्षा मार्फत २ जना ल्याब टेक्निसियन र ३ जना एसिस्टेन्ट करारमा लिने निर्णय गरेको थियो।
सोही अनुसार स्वास्थ्यकर्मी भर्नाका लागि अस्पतालमा शनिबार र आइतबार परीक्षा हुने कार्यक्रम तय भएको थियो। तर, अनेरास्ववियुको धम्कीपूर्ण पत्र र हस्तक्षेपपछि परीक्षा स्थगित भएको छ। अखिलको जिल्ला कमिटीले परीक्षा स्थगित नगरे अस्पतालमा भौतिक, नैतिक र मानवीय क्षति हुनसक्ने चेतावनीसहितको पत्र अस्पताललाई पठाएको छ।
अस्पतालको सेवा विस्तारमा विद्यार्थी संगठनले धम्कीपूर्ण पत्र पठाएपछि अस्पताल प्रशासनले सुरक्षाकर्मीको सहयोगमा नियम अनुसार नै परीक्षा सञ्चालन गर्ने तयारी अगाडि बढाएको थियो। विद्यार्थी संगठनले सो कुरा चाल पाएपछि स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरीलाई परीक्षा रोक्न आग्रह गरे। वाम नेतृत्वको सरकार निर्माण भएलगत्तै एमाले र माओवादी नेतासँग नजिकिन थालेकी सचिव डा चौधरीले अखिलका नेताको आग्रहलगत्तै अस्पतालमा उनीहरुको हस्तक्षेपलाई साथ दिएकी छिन्।
सचिव चौधरीले अस्पताल विकास समितिले परीक्षा मार्फत करारमा नियुक्त गर्न लागेको प्रक्रिया रोक्न शुक्रबार मन्त्रालयबाट पत्र नै काटेकी छिन्। परीक्षाको अघिल्लो दिन परीक्षा स्थगित भएपछि परीक्षार्थी अन्योलमा परेका छन्। परीक्षार्थी सुदीप पाण्डेले राजनीतिक हस्तक्षेपले परीक्षा स्थगित हुँदा आफूहरु अन्यायमा परेको बताए। ‘राजनीतिक हस्तक्षेपमा बिरामीको उपचारमाथि खेलबाड गर्ने काम भयो,’ उनले भने, ‘परीक्षाको अघिल्लो दिन एक्कासी दबाबका भरमा परीक्षा नै रोक्नु गलत काम हो।’
परीक्षा स्थगित भएपछि अस्पतालको विकासमा समस्या परेको अस्पतालका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए। ‘हामीले सबै प्रक्रिया पूरा गरेर परीक्षा लिन लागेका थियौं, तर विभिन्न कारणले परीक्षा रोकिन पुगेको छ,’ उनले भने, ‘अब मन्त्रालयबाट स्वीकृति आएपछि मात्र आवश्यक काम अगाडि बढ्न सक्छ।’ अस्पतालले गत पुस १३ मा आकस्मिक प्रयोगशाला सञ्चालनका लागि जनशक्ति आवश्यक रहेको सूचना सार्वजनिक गरेको थियो। अस्पताल विकास समितिले अस्पतालमा दैनिक ६ सयभन्दा बढी प्रयोगशाला जाँच हुने र आकस्मिक बिरामीका लागि छुट्टै प्रयोगशाला बनाउनुपर्ने नीतिगत निर्णय गरेको थियो। अस्पतालको उक्त निर्णयमा अस्पताल कर्मचारी युनियन लगायत सबैले स्वागत गरेका थिए।
तर, अस्पतालले जनशक्ति करारमा ल्याउन खुला प्रतिस्पर्धाबाट कर्मचारी नियुक्ति गर्ने सूचना जारी गरेपछि विवाद सिर्जना भएको थियो। अस्पतालमा कार्यरत २ जना एसिस्टेन्ट कर्मचारीले आफूहरुलाई एक तहमाथिको ल्याब टेक्निसियन बनाइनुपर्ने माग राखे। अस्पताल प्रशासनले करार नियममा आन्तरिक प्रतिस्पर्धा गराउन नमिल्ने भनेपछि उनीहरुले दबाब सिर्जना गर्न थालेका हुन्। सुरुमा उनीहरुले कर्मचारी युनियन मार्फत उक्त परीक्षा स्थगित गर्दै आफूहरुलाई उक्त स्थानमा राख्नुपर्ने माग राखेका थिए। विवाद निकाल्ने लक्ष्मी सुवेदी र विष्णुभक्त लोहनी कर्मचारी युनियनका अध्यक्ष र उपाध्यक्ष समेत हुन्।
अस्पतालले सबै प्रक्रिया पूरा गरिसकेको र कानुन अनुसार काम अगाडि बढेको भन्दै परीक्षा रोक्न नमिल्ने जवाफ दिएको थियो। त्यसपछि उनीहरुले जिल्लाका राजनीतिक दलका नेता मार्फत अस्पतालमा दबाब दिन थालेको अस्पताल स्रोतले जनाएको छ। जिल्लाका नेताबाट दबाब आएपछि अस्पतालले नेताहरुलाई सबै प्रक्रिया र कानुनी विषयमा जानकारी गराएको थियो। अस्पतालले प्रयोगशाला स्थापनाको कारण र प्रक्रियाबारे जानकारी दिएपछि नेताहरुले परीक्षा नियम अनुसार नै गर्न सहमति दिएका थिए। तर, बुधबार एकाएक विद्यार्थी संगठनबाट धम्कीपूर्ण पत्र आएपछि अस्पतालले सुरक्षा निकायसँग छलफल गरेर परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। धम्कीपूर्ण पत्र पठाउँदा पनि परीक्षा नरोकिने देखिएपछि उनीहरु स्वास्थ्य सचिव मार्फत पत्र पठाउन सफल भएका हुन्।
यस्तो छ अस्पताललाई अखिलको धम्कीपूर्ण पत्र
