यसै पर्खिरहने भयौँ
तर
तपाईंको मिठो बोली सुन्न
तपाईंको हसिलो अनुहार हेर्न
तपाईंको नरम हातले गरिने
चिरफार पनि
आनन्द मान्नेहरु
आफ्ना पिडा बोकेर पर्खिरहेका छन्।
चित्रकार प्रकाश थापा ‘प्रथा’ले यी कविताका पंक्तिहरु मार्फत वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापालाई फर्किन आग्रह गरे। हिजोआज यो आग्रह उनको मात्र छैन, डा थापासँग सम्पर्कमा आएका र नआएका तमाम व्यक्तिहरुको छ। तर उनको उपस्थिती अब सम्झनामा मात्र सीमित भएको छ।

बंगलादेशमा चिकित्सासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर नेपाल फर्किने क्रममा युएस–बांग्ला एयरलाइन्सको विमान दुर्घटनामा डा थापाको अन्य ४९ यात्रुसँगै निधन भएको थियो। लामो समयदेखि चिकित्सा क्षेत्रमा आफुलाई सक्रिय बनाउँदै आएका डा थापा साहित्य तथा राजनीतिमा उत्तीकै रुची राख्दथे।
निधन भएको १३औँ दिनको पूण्य तिथीमा डा थापालाई शनिबार चितवनका कवि तथा चिकित्सकहरुले सम्झिए। डा थापा पनि सम्मिलित रहेको संस्था ‘अफ द बिट जेनेरेशन’ले आयोजना गरेको सो समवेदना तथा श्रद्धाञ्जली कार्यक्रममा डा थापाको तस्विरमा फूल माल्यार्पण गर्दै कविहरुले कविता वाचन गरेका थिए। उनको व्यक्तित्व तथा योगदानमाथि सहकर्मी चिकित्सक तथा प्राध्यापकहरुले आफ्नो अनुभव तथा संझनासमेत बाँडेका थिए।
कवि तथा चिकित्सक कृष्ण पौडेलले डा थापा आफ्नो प्रेरणाको स्रोत भएको बताए। चिकित्सक संघ, चितवनका पूर्वअध्यक्षसमेत रहेका डा पौडेलले भने,‘खासमा डाक्टरहरुले कविता लेख्दैनन् भन्ने आम बुझाइ छ। तर उहाँले आफ्ना अनुभुतीहरुलाई कविताको रुप दिएर डाक्टरहरुलाई कविता लेख्न प्रेरणा दिनुभयो। जसमध्ये एक म पनि हुँ।’

कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ पेट, छाती, मुटु तथा मधुमेह रोग विशेषज्ञ डाक्टर भोजराज अधिकारीले चितवनको स्वास्थ्य क्षेत्रमा डा थापाको भूमिकाको चर्चा गरे। उनले विशेषज्ञता हासिल गरेपछि प्रायः चिकित्सकहरु विदेशीने गरेको बताउँदै यो मानेमा डा थापाको नेपाल बसेर नै सेवा गर्ने सोचलाई सम्मान गर्नुपर्ने तर्क गरे।
‘विदेश गएर आर्थिक उपार्जन गर्ने सोच उहाँमा कहिल्यै आएन। नेपालमा रहँदा पनि उहाँ काठमाडौंभन्दा पनि चिकित्सकको खाँचो राजधानी बाहिर रहेको बताउँदै अन्य जिल्लाहरुमा नै सक्रिय रहनुभयो।,’ डा अधिकारीले भने, ‘लामो समय चितवनलाई नै केन्द्रमा राखेर सेवा दिइरहनुभयो। जो चितवनका लागि निकै सरहानिय काम हो।’

डा थापा सामाजिक तथा राजनीतिक रुपमा पनि उत्तीकै सचेत रहेको बताउँदै प्राध्यापक रामकुमार तिवारीले उहाँसँग भ्रमणका क्रममा बिताएका क्षणहरु सम्झिन भ्याए। तिवारीले संविधानको मोडल बनाउँदा डा थापाको राजनीतिक ज्ञानबाट आफु प्रभावित भएको बताए। डा थापा र प्राध्यापक तिवारीसहित ४ जना मिली २०६२ सालमा नेपालको संविधानका लागि नयाँ मोडल ‘बाबापुरा मोडल’ समेत प्रकाशित गरेका थिए।
नारायणी साहित्य, कला तथा संगीत महोत्सवको सपना डा थापासँगै देखेको बताउँदै कवि एवम् निवन्धकार भुपिनले डा थापाको अनुभव र अभिभावकत्वको सदा अभाव भइरहने बताए। डा थापा आगामि जेठ ५–७ सम्म चितवनको सौराहामा आयोजना हुन लागिरहेको महोत्सवको मुल आयोजक समितिका सदस्यसमेत थिए।
‘चिकित्साको माध्यमबाट त समाजलाई स्वच्छ बनाइ नै राख्नु भएको थियो।’, महोत्सवको आयोजक संस्था अफ दि बिट जेनेरेशनका अध्यक्षसमेत रहेका कवि भुपिनले भने,‘उहाँ कविताको माध्यमबाट पनि समाजलाई स्वच्छ राख्न प्रयास गर्ने एक चिकित्सक हनुहुन्थ्यो।’
उनले डा थापाको वार्षिक पूण्य तिथीसम्म समालोचक डिआर पोख्रेल, कवि उपेन्द्र पागललगायतको सहयोगमा स्मिृती ग्रन्थ प्रकाशन गर्ने योजना बनाएको जानकरी दिए।
कार्यक्रममा डा थापाकै एक कविता सुनाएका कवि तथा कथाकार एलबी क्षेत्रीले चिकित्सा र विमान दुवै विज्ञानकै देन भएको तर उहि विमान दुर्घटनामा चिकित्सा क्षेत्रका एक उर्जाशिल व्यक्तित्व गुमाउनु परेकोमा दुःख प्रकट गरे।

भरतपुरको होटल ग्लोबलमा भएको सो श्रद्धाञ्जली कार्यक्रममा युवा कवि विजय विश्वकर्माले डा थापासँग भेटेको २ मिनेट समयलाई सम्झिदैँ लेखेको कविता सुनाए। कार्यक्रममा साहित्यकारहरु गोविन्दराज विनोदी, गायत्री श्रेष्ठ, प्रभाकर पण्डित, ईश्वर कँडेल, सुरेन्द्र अस्तफल, पुष्प अधिकारी अञ्जली, नमुना शर्मा, विद्या भण्डारी चिराग, लेखराम सापकोटालगायतको उपस्थिती रहेको थियो।
डा थापा भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन अस्पताल प्रालि तथा अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा कार्यरत थिए।
२०२४ माघ १४ गते कुसादेवी–३, काभ्रेमा जन्मिएका थापाले कुशादेवी उच्चमाविबाट एसएलसी उत्तीर्ण गरेका थिए। डा थापा चिकित्साशास्त्र अध्ययन संस्थान, महाराजगञ्जका गोल्ड मेडलिस्ट डाक्टर हुन्। थापाले बंगलादेशको ढाकामा रहेको बंगबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयबाट न्युरो सर्जरीमा एमएस गरेका थिए।
चिकित्सा पेशाका साथै साहित्यमा समेत सक्रिय थापाका ’डाक्टरी कविता’ (२०६१), ’डाक्टरका कविता’ (२०६९) कवितासंग्रह र ’चिरफार’ (२०७०) निबन्धसंग्रह प्रकाशित छन्। यसका साथै उनले चिकित्सा क्षेत्रबारेको आफ्नो अध्ययन र शोधलाई समेटेर सन् २०१३ मा ‘न्युरो अंकोलोजी’ पुस्तक समेत निकालेका थिए।