काठमाडौं– नेपाल आयुर्वेद चिकिकत्सक संघले आयुर्वेद स्थापना सहित १५ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका छन्। स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याललार्इ भेटेर ज्ञापन पत्र बुझाएका हुन्।
आयुर्वेद चिकित्सा विधा नेपालको मौलिक चिकित्सा पद्धती भएको र देशैभरी संगठन सञ्जाल सेवा दिइरहेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावित सांगठनिक संरचनामा आयुर्वेद विभाग समावेश गर्न माग गरिएको छ। भनिएको छ, 'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा वैकल्पिक चिकित्सा विधालार्इ ओझेलमा पार्ने गरि सरोकारवालासँग छलफल नै नगरी संरचना प्रस्ताव गरिएकोमा हामीहरुको गम्भीर ध्यानाकर्षण भएको छ।'
उनीहरुका माग यसप्रकार छन्:
१. स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखा र आयुर्वेद बिभाग सहित साविकका दरवन्दी समेत यथावत राखी थप दरवन्दी सृजना गरियोस्।
२. आयुर्वेद स्वास्थ्य नीति तुरुन्त लागु गरियोस्।
३. वनस्पति वोर्डको तत्काल स्थापना गरियोस्।
४. सबै प्रदेशमा प्रादेशिक आयुर्वेद विभाग स्थापना गरियोस्।
५. सबै स्थानीय निकायमा चिकित्सक सहितको आयुर्वेद शाखा स्थापना गरियोस्।
६. सबै राष्ट्रिय कार्यक्रमहरु आयुर्वेद संस्था हरुबाट प्रदान गर्ने व्यवस्था गरियोस तथा सबै राष्ट्रिय कार्यक्रमहरुमा आयुर्वेद स्वास्थ्यकर्मी हरुलाई पनि अनिवार्य रुपमा सहभागी गराइयोस्।
७. सामाजिक स्वास्थ्य बीमा प्रणाली अन्तर्गत आयुर्वेद चिकित्सा समेत समाबेश गरियोस्।
८. सबै स्थानीय निकायमा चिकित्सक सहितको आयुर्वेद अस्पताल स्थापना गरियोस्।
९. सबै जिल्लामा विशेषज्ञ सहित को कम्तिमा ३० बेडको आयुर्वेद अस्पताल स्थापना गरियोस।
१०. एकै तहमा १० वर्ष वा सो भन्दा माथि सेवा गरेका आयुर्वेद चिकित्सक हरुलाई कम्तिमा दुइ तह स्वत बढुवा हुने व्यवस्था गरियोस्।
११. नरदेवी आयुर्वेद चिकित्सालय लाई स्तर बृद्दी गरि ३०० शैया मा संचालन गरियोस्।
१२. बीएएमएस गरि स्वास्थ्य सम्वन्धि बिभिन्न विधामा स्नातकोत्तर गरेका जनशक्तिलाई अध्ययन गरेको विषय अनुसारको तह बृद्दी तथा दरवन्दीको व्यवस्था गरियोस्।
१३. गुणस्तरीय जनशक्ति उत्पादनको लागि त्रि.वि. अन्तर्गत आयुर्वेद अध्ययन संस्थान को स्थापना गरियोस्।
१४. राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र लाई तत्कालै सातै प्रदेश मा विस्तार गरियोस्।
१५. राष्ट्रिय पंचकर्म तथा योग केन्द्र र प्रादेशिक अस्पताल लाइ सातै प्रदेशमा विस्तार गरियोस्।