काठमाडौं– सूर्तिजन्य पदार्थ बोकेर स्वास्थ्य मन्त्रालयको गेटबाट छिर्न समेत नपाइने भएको छ । स्वास्थ्य राज्य मन्त्री पद्मा अर्यालले सोमबार मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो नियम ल्याउन लागेको बताएकी हुन्।
मदिरा र सूर्ति नियन्त्रणको नियम भएपनि कार्यान्वयन नभएकोतर्फ संकेत गर्दै उनले मन्त्रालयबाट यसको सुरुवात गर्ने बताइन् । उनले भनिन्, ‘यसको सुरुवात स्वास्थ्य मन्त्रालयबाटै गर्नुपर्छ भनेर हामीले यस्तो नियम लागू गर्न लागेको हौं।’
स्वास्थ्य मन्त्रालयका कर्मचारी र बाहिरबाट कामका लागि जाने सर्वसाधारणले मन्त्रालय भित्र प्रवेश गर्दा चुरोट, सूर्ति र गुट्खा लैजान नपाउने भएका हुन् । यसका लागि मन्त्रालयको गेटमै चेकजाँच हुने व्यवस्था मिलाउन लागिएको हो ।
स्पष्ट नीति लिइने
मन्त्री अर्यालले संघीय संरचनामा जाँदा स्वास्थ्य क्षेत्रलाई महत्व दिने विषयमा आफू गम्भीर रहेको बताएकी छिन् । स्वास्थ्यका विषयमा जनप्रतिनिधीहरुलाई बुझाउन जरुरी रहेको उनले बताइन्।
पहिलो चरणमा प्रदेश स्तरका सामाजिक विकास मन्त्रीलाई स्वास्थ्यका विषयमा स्पष्ट नीति लिन निर्देशन गरिने उनले बताइन् । उनले भनिन्, ‘सवै प्रदेशका सामाजिक विकास मन्त्री बोलाएर संघीय स्वास्थ्य नीति र यसका जटिलताका विषयमा छलफल गर्ने योजना बनाएका छौं।’
संघीय संरचनामा जाँदा स्वास्थ्यमा जनताकाे पहुँचमा असमानता देखिएको उनले बताइन् । कति गाउँपालिका र नगरपालिकामा दुई भन्दा बढी स्वास्थ्य संस्था भएपनि कतिमा एउटा पनि नरहेको भेटिएको बताइन् । हाल पनि १७ सय वडामा स्वास्थ्य संस्था नै नरहेको बताउँदै समान पहुँचका लागि पहल गर्ने उनको भनाई थियो ।
दिन गनेर काम गर्छु
स्वास्थ्य मन्त्रालयले अझै क्याबिनेट मन्त्री प्राप्त गरिसकेको छैन । स्वास्थ्य राज्य मन्त्री अर्याल पनि सोही मन्त्रालयमा निरन्तर हुने विषयमा आशंका उत्पन्न भइरहेको छ । पत्रकारका सोही जिज्ञासाको उत्तर दिँदै राज्य मन्त्री अर्यालले आफू दिन गनेर काममा लागेको बताइन्।
उनले भनिन्, ‘म आज यहाँ छु । जति दिन यहाँ हुन्छु । दिन गनेर काम गर्छु । आफूले गर्ने कामको प्राथमिकता तय गरेर अघि बढिसकेकी छु ।’ जुन मन्त्रालय पुगे पनि काम गर्नकै लागि मन्त्री बनेको उनले बताइन्।
मन्त्री अर्यालले वर्तमान अवस्थामा स्वास्थ्य मन्त्रालयले लिनुपर्ने दिशाका विषयमा छलफल गर्न पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेकी थिइन् । उनले सुरुमा वर्तमान अवस्था र यसका निकासका विषयमा पत्रकारसँगै सुझाव मागेकी थिइन् ।