चितवन- कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई एक करोड ५० लाख तिर्न बाँकी रहेको छ।
भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो।
अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने बक्यौता रकममध्ये महालेखा परीक्षकको कार्यालयले प्रचलित ऐनबमोजिम औँल्याएको बेरुजु ६७ लाख र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको बक्यौता रकमसमेत गरी करिब एक करोड ५० लाख भन्दा बढी बक्यौता देखिएको बताए।
विसं २०५२ सालमा नेपाल सरकारसँग सम्झौता गरी भरतपुर अस्पतालको नौ बिगाहा जग्गा भाडामा लिएर भारतीयले मेडिकल कलेज सञ्चालन गरेका छन्। शुरुवातको समयमा प्रतिबिगाहा प्रतिवर्ष ५० हजार भाडा दिने सम्झौता भएको थियो।
सम्झौताको समयमा पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने शर्त रहेको अध्यक्ष राजभण्डारीले बताए। तर विसं २०६३ सालमा तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष बद्री तिमिल्सिना १० प्रतिशत वृद्धि हुने प्रावधान खारेज गर्नुभएको उनले बताए।
यसबाट अस्पताललाई ठूलो आर्थिक क्षति भएको छ, अध्यक्ष राजभण्डारीले भने, ‘यो निर्णय अस्पतालकै इतिहासमा घातक र हानिकारक भएको छ।’
पुरानो सम्झौतालाई पुनरावलोकन गर्न अस्पतालले पटकपटक आग्रह गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताए। उनले सम्झौता पुनरावलोकन नभएसम्म मेडिकल कलेजलाई अस्पतालमा प्रयोगात्मक कक्षा पनि नदिइएको बताए।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले २०६३ मा सम्झौता संशोधन नभएको भए अहिले अस्पतालले प्रतिबिगाहा वार्षिक रु दुई लाख २५ हजार पाउन सक्ने बताए। अस्पतालले पाउनु पर्ने रकम मेडिकल कलेजले नियमित रुपमा तिर्नुपर्ने आफ्नो त्यतिबेलाको अडान कायमै रहेको उनले बताए। रासस