जुम्ला- तिला गाउँपालिका ३ का डिल्ली परियार स्वास्थ्यचौकीमा सामान्य रुघाखोकीको औषधि समेत नपाउँदा निकै दिक्क मान्थे। जिल्लामै पहिलो पटक दलित बस्तीमा विशेषज्ञ डाक्टरको टोली आएर स्वास्थ्य सेवा पाएपछि उनी दंग छन्।
उनले खुसी हुँदै सुनाए, 'धित मरुन्जेल औषधिमुलो गर्न पाइयो।'
सामान्य रुघाखोकीको औषधि किन्न पनि घन्टौं हिँड्नुपर्ने ठाउँमै आएर चिकित्सकले जाँच्ने र औषधि उपलब्ध गराउने गर्दा निकै खुसी लागेको उनले बताए।
तिला ४ का ६६ वर्षीय रतिमान रावत दम, रुघाखोकी, अनिद्रा जस्ता समस्याले ग्रस्त थिए। स्वास्थ्यकर्मी नपाउँदा परामर्श लिन नसकेका उनका लागि गाउँमै आएको चिकित्सकको टोली निकै सहयोगी बन्यो। उनले स्वास्थ्य समस्याबारे विशेषज्ञ चिकित्सकलाई प्रत्यक्ष सुनाए।
'डाक्टर देख्दा आफूलाई चाहिएको र खोजेको औषधि पाउने आशा पलायो', उनले भने, रोग पनि पत्ता लाग्यो।'
कर्णाली राजमार्गसँग जोडिएको बस्ती भए पनि स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिने तिला गाउँपालिकामा बालरोग विशेषज्ञ डा सन्दिप श्रेष्ठ, गाइनोलोजिस्ट पूर्णिमा राई, हाडजोर्नी तथा नसा रोग विशेषज्ञ डा धनबहादुर कामी र जनरल फिजिसियखन निमा महर्जन लगायतको टोलीले स्वास्थ्य शिविर चलाएको हो। शिविर दलित बस्ती केन्द्रित भए पनि गैरदलित परिवार पनि लाभान्वित भए।
कुडारी स्वास्थ्यचौकीका इञ्चार्ज वीरेन्द्रप्रसाद उपाध्याय सक्रियतामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सहयोगमा विशेषज्ञ सेवा दिइएको हो। हरेक महिनाको एक पटक जनतामाझ विशेषज्ञ चिकित्सक पुर्याषउने उद्देश्यले सेवा सञ्चालन गरिएको इञ्चार्ज उपाध्याय बताउँछन्।
विशेषज्ञ स्वास्थ्य सेवा मार्फत पहिलो दिनमै ४ सयभन्दा बढीको उपचार गरिएको छ। दम, पाइल्स, रुघाखोकी, पखाला लगायतका समस्या भएका बिरामी बढी मात्रामा आएका छन्।