काठमाडौं- विशेष अदालतले भ्रष्टाचारको मुद्दा लागेका जिल्ला जन स्वास्थ्य कार्यालय पर्साका तत्कालीन प्रमुख इन्द्रप्रसाद यादवसहित चार जनाले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र प्रमोदकुमार वैद्यको इजलाशले उनीहरुलाई सफाइ दिने फैसला सुनाएको हो।
अख्तियारले प्रमुख जिल्ला जनस्वास्थ्य कार्यालयका तत्कालीन प्रमुख यादव, भण्डार शाखाका प्रमुख, खरिदार राजेश्वर प्रसाद, वैरियाविर्ता स्वास्थ्य चौकीका इन्चार्ज श्रीराम साह र झौवागुठी स्वास्थ्य चौकीका इन्चार्ज सोनालाल प्रसाद चौरासीयाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
अख्तियारले २०७३ पुस १७ गते अख्तियारले प्रमुख यादवले ३ लाख ९७ हजार, चौकी इन्चार्ज साहले १ लाख २५ हजार, चौरसीयाले १ लाख २५ हजार र प्रसादले १ लाख ४७ हजारको विगो माग गरेको थियो। तर विशेषले भ्रष्टाचार भएको प्रमाण अख्तियारले पेश गर्न नसकेको भन्दै उनीहरुलाई एक वर्षपछि भ्रष्टाचारको अभियोगवाट सफाई दिने फैसला सुनाएको हो।
उनीहरुले आपसी मिलेमतोमा विभिन्न मेडिकल हल, फार्मेसीको नाममा भुक्तानी गराउने कार्यमा नक्कली बिल भर्पाइ बनाइ भ्रष्टाचार गरेको अख्तियारको आरोपपत्रमा उल्लेख थियो।
आयोगले अख्तियारले उनीहरु बिरुद्ध ऐन, २०५९ को दफा ८ बमोजिमको कसुरमा जरिवाना ,बिगो र जेल सजाय हुनु पर्ने माग गरिएको थियो।