एजेन्सी– अस्वाभाविक क्यान्सरसंग सम्बन्धित धेरै घटना स्तन प्रत्यारोपणसंग सम्बन्धित रहेको अनुसन्धानले देखाएको छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन –एफडीए) ले जनाएअनुसार स्तन प्रत्यारोपणसंग सम्बन्धित क्यान्सरका घटना ३ सय ५९ रहेकामा यसवर्ष यो संख्या बढेर ४ सय १४ पुगेको छ।
यद्यपि मृत्युका घटना गत वर्ष ९ रहेकोमा यसवर्ष पनि उत्ति नै छ। एफडीएले यो तथ्यांक अमेरिकासहित विश्वका अन्य देशहरुबाट पनि समावेश गरेको हो । एफडीएले सन् २०१११ देखि नै स्तन प्रत्यारोपणसंग सम्बन्धित क्यान्सरबारे तथ्यांक सार्वजनिक गर्न थालेको थियो। तर यो रोग स्तन क्यान्सरभन्दा पनि स्तन प्रत्यारोपणसम्बन्धी एनाप्लास्टिक लार्ज सेल लिम्फोमा रहेको बताइएको छ। यो रोग सुरुमै थाहा भए प्रत्यारोपण गरिएको स्तन र यसवरपर निर्माण भएका तन्तुलाई शल्यक्रियामार्फत् निकालेर निको पार्न सकिन्छ । तर केही महिलामा भने केमोथेरापी र विकिरणबाट उपचार गर्न सकिन्छ। यसको मुख्य लक्षणमा प्रत्यारोपण गरिएको स्तन वरपर सुन्निन सक्छ्, जुन शल्यक्रिया गरेको २ देखि २८ वर्षमा देखिने सम्भावना हुन्छ । तर लक्षण नदेखिएका महिलामा परीक्षण र प्रत्यारोपण हटाउने आवश्यकता नभएको एफडीएका अधिकारीहरुको भनाई छ।
कोमल खालको भन्दा पनि टेक्स्चर प्रत्यारोपण गरेका महिलामा लिम्फोमा हुने सम्भावना हुन्छ । तर लिम्फोमा र प्रत्यारोपित स्तनभित्र राखिएका कृत्रिम पदार्थ (नुन, पानी या सिलिकन) बीच कुनै सम्बन्ध नरहेको विज्ञहरु बताउछन् । यस्तै लिम्फोमा पनि स्तन क्यान्सरसंग सम्बन्धित छैन । टेक्स्चर प्रत्यारोपणमा सतह अलि कडा खालको हुने भएकाले केही महिलामा चिलाउने समस्या देखिन सक्छ, जसको फलस्वरुप पोल्ने हुन्छ र लिम्फोमा हुन सक्छ ।
अर्कोतिर टेक्स्चरले ब्याक्टेरिया लिन सक्छ र क्रोनिक संक्रमणले क्यान्सर हुन सक्छ । अमेरिकामा कोमल खालको स्तन प्रत्यारोपण भएपनि युरोपमा भने टेक्स्चर प्रत्यारोपण बढी लोकप्रिय छ। तर स्तन प्रत्यारोपणको संख्याको तुलनामा लिम्फोमाको तथ्यांक भने सानो हो । अमेरिकामा सुन्दरता बढाउन प्रतिवर्ष ३ लाख महिलाले स्तन प्रत्यारोपण शल्यक्रिया गर्छन् । विश्वभर करिब १ करोड महिलाले प्रत्यारोपण गरेको अनुमान छ।