बझाङ- नेपाल सरकारले ल्याएको गरेको स्वास्थ्य बिमा कार्यक्रम बझाङमा पनि लागू हुने भएको छ। राष्ट्रिय बिमा नीति २०७१ ले कार्यक्रम दीर्घकालीन लक्ष्य र मुख्य उद्देश्य निर्धारण गरेपछि कार्यक्रम लागू भएको हो।
यो कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपभोगमा सुधार ल्याउने स्वास्थ्य बिमा प्रबन्धक नरेशकुमार चौधरीले बताए। गरिब, पिछडिएका अतिविपन्न, महिला, दलित, जनजातिले यसबाट फाइदा लिने उनको भनाइ छ। 'स्वास्थ्य सेवाका क्षेत्रमा जोखिम न्युनीकरणको व्यवस्था गरी सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्नु कार्यक्रमको उद्देश्य हो,' उनले भने।
कार्यक्रमले स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकारिता, दक्षताका साथै जवाफदेहीतामा सुधार ल्याउने चौधरीले बताए। बझाङमा यो कार्यक्रम लागू गर्न स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मीका साथै सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सञ्चालन भइरहेका छन्।
यस्तो छ सुविधा
वार्षिक २ हजार ५ सय रुपैयामा ५ जना परिवारको स्वास्थ्य बिमा गर्न सकिने र यसबाट एक जनाले एक पटक ५० हजार बराबरको सेवा सुविधा नि:शुल्क रुपमा लिन सक्नेछन्।
५ जनाभन्दा बढी परिवार हुनेका लागि ४२५ रुपैयाँ थप हुने र सेवा थप १० हजारले वृद्धि हुने गर्छ। ५ जनासम्मको परिवारले दैनिक ७ रुपैयाँ छुट्याउँदा एक वर्षका लागि योगदान रकम जम्मा हुने र यो रकम फिर्ता नहुने बिमा प्रबन्धक चौधरीले जानकारी दिए।
कैलालीमा २०७३ जेठ १ गतेदेखि सेवा सुरु भएको थियो। इलाम र बाग्लुङमा २०७३ भदौ १ गते, म्याग्दी, कास्की, पाल्पा, अछाम र बैतडीमा २०७३ फागुन १ गते स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन भएको थियो। तनहुँ, गोरखा, भत्तपुर, मकवानपुर, चितवन, जुम्ला र जाजरकोटमा २०७४ भाद्र १ गते, झापा, सिन्धुली, सुनसरी, रोल्पा, सोलुखुम्बु, सुर्खेत, बर्दियामा २०७४ मंसिर १ गतेदेखि नै कार्यक्रम सञ्चालनमा रहेको स्वास्थ्य बिमा विभाग टेकुका भरत बोहराले बताए।
यस्तै, रौतहट, पर्सा र महोत्तरीमा समेत कार्यक्रम सुरु भइसकेको छ भने बाजुरा र बझाङमा लागू हुने तयारीमा छ।
अबको केही महिनापछि नेपालका ३९ जिल्लामा कार्यक्रम लागू हुने बोहराले बताए। उनका अनुसार हालसम्म ३० जिल्लामा ५ लाख ५० हजारभन्दा बढी व्यक्तिले स्वास्थ्य बिमा गराएका छन्।
यसरी गर्न सकिन्छ स्वास्थ्य बिमा
स्वास्थ्य बिमाका लागि सहयोगीहरु स्थानीय सर्वसाधारणकै घरघरमा पुग्नेछन्। बिमा गर्नका लागी बिमा दर्ता सहयोगी (एजेन्ट) लाई सुरुमा तालिम दिइने गरिएको छ। यदि कुनै व्यक्तिले स्वास्थ्य बिमा गर्न चाहेको खण्डमा सहयोगीहरु घरमा नै पुगेर बिमाका बारेमा जानकारी गराउने, फोटो खिच्ने र फाराम भर्ने गर्छन्। त्यसपछि तत्कालै स्वास्थ्य बिमा गरेका व्यक्तिलाई कार्ड उपलब्ध गराइनेछ।
५ जना परिवारले स्वास्थ्य बिमा गरेका छन् भने ५ वटै कार्ड तथा परिचय पत्र उपलब्ध स्वास्थ्य बिमाले गराउने छ। उक्त कार्डका आधारमा नै बिरामीपश्चात्
५० हजार बराबरको सेवा लिन सकिनेछ। यदि ५० हजारभन्दा बढी खर्च भएको खण्डमा बिरामी आफैले बेहोर्नुपर्ने छ।
वर्षैपिच्छे स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको कार्ड नवीकरण गर्नुपर्ने हुन्छ। यसबापत वार्षिक २ हजार ५ सय बिमा बोर्डलाई बुझाउनुपर्छ।