काठमाडौं- उदयपुरको कटारी नगरपालिका–११ गहुँबारीमा बुधबार बिहान तेल बोकेको ट्याङ्कर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। उनीहरुको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।
अस्पतालका अनुसार उपचारका लागि ल्याइएका तीन जनामध्ये एक जनाको बाटोमा नै मृत्यु भएको थियो भने बाँकी दुई जनाको सघन उपचार कक्षमा उपचार भइरहेको छ। बाटोमा मृत्यु हुनेमा १७ वर्षिय अभिषेक श्रेष्ठ रहेका छन्।
दुर्घटनाका घाइते २१ वर्षिय सुभाष तामाङ र २२ वर्षिय सुजन गोलेको बयोधामा उपचार भइरहेको छ। उनीहरुमध्ये दुर्घटनाका कारण गोलेको मस्तिष्कमा चोट लागेको छ भने तामाङको ढाडको हड्डी भाँचिएको अस्पतालले जनाएको छ। तामाङको ढाडको शल्यक्रियाको तयारी भइरहेको अस्पतालले बताएको छ। अस्पतालले दिएको जानकारी अनुसार गोलेको अवस्था भने अलि गम्भिर छ।
उनीहरुको उपचारमा डा अभय यादव र डा श्याम पाण्डेको टाेली खटिएको छ।
बिहान भएको दुर्घटनामा चालकसहित २ जनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक चन्द्रराज वंशीले जानकारी दिए।
सिद्धिचरण राजमार्गअन्र्तगतको कटारी–घुर्मी सडकखण्डको गहुँबारीमा आज बिहान २ बजेतिर ना६ख ३२३१ नम्बरको ट्याङ्कर अनियन्त्रित भई सडकबाट तल खसेको थियो।
दुर्घटनामा चालक बारा अम्लेखगञ्ज ४ का २३ वर्षीय पूर्णप्रसाद खनाल र मकवानपुर नामटारका ३१ वर्षीय सरोज मोक्तानको मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले जानकारी दिए।