काठमाडौं– सरकारले पेट्रोलियम पदार्थबाट थप २ रुपैयाँ उठाएर सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्ने तयारी थालेको छ। स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाले यस्तो अवधारणा अघि सारेको हो।
दुर्घटनामा घाइते हुँदा उपचार खर्च व्यहोर्न नसकेर ज्यान गुमाउनुपर्ने अवस्थासम्म आएकाले यस्तो अवधारणा अघि सारिएको चिकित्सा महाशाखा प्रमुख डा भोलाराम श्रेष्ठले बताए। उनले भने, ‘कम्तिमा पहिलो ४८ घन्टा सरकारले निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने देखिएकाले यस्तो अवधारणा अघि सारेका हौं।’
दुर्घटना पश्चात् उपचारका लागि आर्थिक जोहो गर्न नसक्दा सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर परेको र कतिपय अवस्थामा मृत्यु समेत हुने गरेकाले त्यसको समाधानका लागि विकल्प खोजिएको हो।
पेट्रोलियमबाट उठाइएको २ रुपैयाँ स्वास्थ्य उपचार कोषमा जम्मा गरिनेछ। सोही कोषबाट सरकारले दुर्घटनाका घाइतेको उपचारमा खर्च गर्नेछ। घाइतेले उपचार बीमा गरेको भए सोही कोषमा सोधभर्ना गरिने बताइएको छ।
दुर्घटनाग्रस्त क्षेत्रमै उपचारका लागि केन्द्र र प्रदेशमा आकस्मिक सेवा व्यवस्थापन कक्ष स्थापना गरिनुपर्ने विषयमा छलफल चलाइएको छ। ‘दुर्घटनापछि एम्बुलेन्सका लागि १०२ मा फोन गर्दा सँगै प्राथमिक उपचार र उद्दार टोली समेत जानेछ,’ अवधारणका विषयमा डा श्रेष्ठले भने, ‘घटनास्थलमै प्राथमिक उपचार गर्ने र थप उपचारका लागि उपयुक्त अस्पताल रिफर गरिनेछ।’ यसलाई प्रि हस्पिटल केयर कार्यक्रम नामबाट सञ्चालन गर्न सकिने बताइएको छ।
यसबाट कमिसनका लागि एम्बुलेन्स चालकले आफूखुसी बिरामीलाई अस्पताल लैजाने प्रवृत्तिको समेत अन्त्य हुने अपेक्षा गरिएको छ।