काठमाडौं– गंगालाल अस्पतालमा आमाको उपचारका लागि आएकी एक युवतीलाई आफू सो अस्पतालको चिकित्सक बताउँदै नजिकिएर एक व्यक्तिले बलात्कार गरेका छन्। पाल्पा घर भएका २७ वर्षीय अर्जुन कोइरालाले गत ६ गते किशोरीलाई गेस्ट हाउसमा लगेर बलात्कार गरेका हुन्।
६ गते दिउँसो युवतीसँग उनले अस्पतालमा आफू डा सन्तोष घले भएको भन्दै चिनजान गरेका थिए। आमाको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने भन्दै आश्वासन दिएर उनी नजिकिएका थिए। त्यसपछि आमाको सानीआमाको घरमा जाने भन्दै उनले युवतीलाई मोटरसाइकलमा राखेर नयाँ बसपार्कस्थित गेस्ट हाउस पुर्याएका थिए। गेस्ट हाउसमै उनले बलात्कार गरेको पीडित युवतीले बताएकी छिन्। आफुमाथि पटकपटक बलात्कार भएको उनको भनाइ छ।
घटनायता उनी फरार भएका थिए। सिसिटिभीका आधारमा अनुसन्धान गरी कोइरालालाई प्रहरीले बुधबार पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनी पूर्वसैनिक भएको खुलेको छ। युवतीलाई फकाउन आफू डाक्टर भएको नाटक गरेको उनले बयान दिएको महाराजगन्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले बताए।