काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)मा अबको केही समयपछि कलेजो प्रत्यारोपण सेवा सुरु हुने भएको छ। प्रत्यारोपण सेवा सुरु गर्न अस्पतालमा आवश्यक भौतिक तथा प्राविधिक तयारीको काम धमाधम भइरहेको छ।
अस्पतालमा कार्यरत कलेजो प्रत्यारोपण शल्यचिकित्सक डा रमेश भण्डारीको नेतृत्वमा प्रत्यारोपण सेवा सुरु हुन लागेको हो। कलेजो प्रत्यारोपण चिकित्सा क्षेत्रमा अन्य काम भन्दा जटिल भएकाले अस्पतालले प्रत्यारोपण सेवाका लागि डा भण्डारीको नेतृत्वमा चुस्त मेडिकल टिम तयार पारेको हो।
प्रत्यारोपण शल्यचिकित्सक डा भण्डारीका अनुसार ३ वर्षको लगातार मिहेनतपछि अस्पतालले प्रत्यारोपण सेवाका लागि आवश्यक पर्ने लगभग सबै तयारी पुरा गरेको हो। ‘प्रत्यारोपणका लागि चाहिने हामी मेडिकल टिम सेवा सुरु गर्न तयार छौं,’ उनले भने, ‘अब केही हप्तामा सबै पूर्वाधार र प्रक्रिया पुरा भएपछि सेवा सुचारु हुनेछ।’
प्रत्यारोपण टिममा को को ?
डा भण्डारीका अनुसार प्रत्यारोपण टोलीमा उनीसहित शल्यचिकित्सक डा जयन्त शाह र उनीहरुलाई डा प्रसन कंशाकार, डा विकल घिमिरे र डा विष्णु कँडेलले सहयोग गर्नेछन्।
यस्तै एनेस्थेसियामा डा अमित भट्टराई र डा पंकज जोशी, कलेजो प्रत्यारोपणको क्रिटिक केयरमा डा सुवाश आचार्य र डा प्रमेश सुन्दर श्रेष्ठ, डा राहुल पाठक (लिभर ट्रान्सप्लान्ट हेपाटोलोजी), रेडियोलोजीमा डा दिनेश चटौत, डा अजित थापा रहनेछन् भने उनीहरुलाई डा शर्मा पौडेलले सहयोग गर्नेछन्।
यसैगरी, प्याथोलोजी तर्फ डा अनिलदेव पन्त, पेडियाट्रिक लिभर ट्रान्स्प्लान्ट हेपाटोलोजीमा डा सुर्यबहादुर थापा छन्।
यसका साथै अस्पतालले प्रत्यारोपणका लागि नर्सहरुका लागि समेत तालिम दिइरहेको छ।
कलेजो प्रत्यारोपण जटिल कार्य भएकाले अस्पतालले मुटु, मिर्गौला, फोक्सो, नसा, मनोरोग विशेषज्ञ तथा बायोकेमेष्ट्रि, माइक्रोबायोलोजी, फार्माकोलोजी, पोषण, ब्ल्ड बैंक र फिजियोथेरापीको पनि सहयोग लिने भएको छ।
डा भण्डारीका अनुसार अस्पतालले कलेजो प्रत्यारोपण सेवालाई प्रभावकारी र निरन्तर बनाउन निजामति अस्पतालका रगत रोग विशेषज्ञ डा विशेष पौडेलसँग पनि आवश्यक सहयोग लिने भएको छ।
उनले सुरुका केही प्रत्यारोपणका लागि अष्ट्रेलिया र भारतका विज्ञहरुको सहयोग लिने पनि जानकारी दिए। उनले अस्पतालले कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने अवस्थामा आउनुमा अस्पताल निर्देशक डा दीपक महराको पनि ठूलो भूमिका रहेको बताए।