काठमाडौं– रुघाखोकी लगायतको औषधी बनाउन प्रयोग गरिने सिउडोफेड्रिन नामक रसायन अन्तर्राष्ट्रिय लागू औषध कारोबारीलाई बेचेको आरोप लागेको एसआर फर्मास्युटिकल्स कम्पनीले रद्द गरिएको गुड म्यानुफ्याक्चरिङ (जिएमपी) नवीकरण गर्न राजनीतिक लबिइङ थालेको छ। लागू औषधको प्रिकर्सरका रुपमा प्रयोग हुने रसायन डाइभर्सन भएको पुष्टि भएपछि २०७३ असोजमा औषधि व्यवस्था विभागले जिएमपि रद्द गर्ने निर्णय गरेको थियो।
नवीकरणका लागि कम्पनीले विभागमा निवेदन दिएको छ । तर, विभागले अनुसन्धान जारी रहेको बताउँदै नवीकरण गर्न नसकिने बताएको छ। विभागको उक्त जफावपछि कम्पनी सञ्चालकहरु हाल सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका उच्च पदस्थ नेताकहाँ पुगेका छन्। स्रोतका अनुसार नवीकरणका लागि एमालेबाटै स्वास्थ्य राज्य मन्त्री बनेकी पद्मा कुमारी अर्याललार्इ भनिदिन उनीहरुले आग्रह गरेका छन्।
हालसम्म त्यसका लागि कुनै शक्तिकेन्द्रले दबाब नदिएको औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन्। उनी भन्छन्, 'अहिलेसम्म कहीँकतैबाट दबाब आएको छैन । दबाब आएपनि गर्न मिल्दैन । हामी अनुसन्धान गरिरहेका छौं र काठमाडौं जिल्ला अदालतमा मुद्दा चलिरहेको छ।'
औषधी व्यवस्था विभागले लागू औषधको प्रिकसरका रुपमा प्रयोग हुने सिउडोफेड्रिन आयात गरिएको जति स्टक र औषधी उत्पादनमा गएको नभेटिएपछि जिएमपी रद्द गरेको थियो।
त्यसअघि पनि निरीक्षण क्रममा माइक्रोबायोलोजी ल्याब लगायतमा कमजोरी भेटिएकाले सचेत गराइसकेको औषधि उत्पादन कम्पनी हो।