काठमाडौं- त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले चैतभित्र आफ्ना ४ बुँदे माग पुरा गर्न सरकारलाई समयसिमा दिएका छन्। उनले आज विज्ञप्ति जारि गर्दै चैत मसान्तसम्मको समय दिएका हुन्।
डा केसीले आफ्ना ४ बुँदे माग पुरा नभए पुन अनशन बस्ने चेतावनी पनि विज्ञप्तिमार्फत दिएका छन्।
यी हुन् डा केसीका ४ बुँदे माग
१) चिकित्सा शिक्षा अध्यादेश अविलम्ब संसदमा पेश गरेर यथारुपमा पारित गरियोस् ।
२) चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिश बमोजिम कारवाही गरियोस् । त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिइयोस् ।
३) त्रिवि अन्तर्गतका निजी मेडिकल कलेजहरुमा सरकारले तोके अनुरुप स्नातकोत्तर तहको शुल्क २२,५०,००० कायम गरियोस् ।
४) गोपाल पराजुलीमाथि छानविन गरेर उचित कारवाही गरियोस् । उनले अहिलेसम्म सरकारी कर्मचारीहरुलाई धम्क्याएर आफ्नो किर्ते उमेर कायम गर्न र अवैध राजीनामालाई वैध बनाउन गरेको प्रयासबारे समेत छानविन गरियोस् । पराजुलीको अवकाश सम्बन्धी न्याय परिषद्को निर्णयविरुद्ध राज्यका अन्य अंगले चालिरहेका नाजायज कदमहरु तत्काल बन्द गरियोस् ।