काठमाडौं– 'राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश-२०७४' आज संसदमा पेश भएको छ। प्रतिनिधिसभाको आज बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अध्यादेश पेश गरेका हुन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले गत कात्तिक ६ गते चिकित्सा शिक्षा अध्यादेश जारी गरेको थियो। राष्ट्रपतिले कात्तिक २४ गते त्यसलाई प्रमाणीकरण गरेकी थिइन्।
राष्ट्रपतिबाट प्रमाणीकरण भइ जारी भएको अध्यादेश संघीय संसदको अधिवेशन प्रारम्भ भएको साठी दिनभित्र स्वीकार नगरे खारेज हुने व्यवस्था छ। तर, अघिल्लो सरकारले ल्याएको अध्यादेश नयाँ सरकारले पारित गराउन लागेको हो।
नयाँ संसदको अधिवेशन गत फागुन २१ गतेबाट प्रारम्भ भएको छ।
त्यस्तै, आजै राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७४ पनि प्रस्तुत हुने कार्यक्रम छ।