काठमाडौं- स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्य भोलीबाट अवकास पाउँदै छन्। डा आचार्यले उमेरका आधारमा सरकारी सेवाबाट अवकास पाउन लागेका हुन्।
डा आचार्य निर्देशकका रुपमा आज अन्तिम दिन महाशाखाका प्रमुखका रुपमा काम गरिरहेका छन्। वि.सं २०४४ सालमा करारका रुपमा सरकारी सेवामा प्रवेश गरेका डा आचार्य २०४८ सालमा स्थायी भएका हुन्। स्थायी भएलगत्तै पहिलो पोष्टिङ धादिङ अस्पतालमा भएको थियो।
धादिङ अस्पतालमा ४ वर्ष काम गरेपछि उनी जर्मनमा एमपिएच अध्ययनका लागि गएका थिए। एमपिएच अध्ययन गरेर फर्केपछि उनले ०५२ सालमा कान्ति अस्पतालमा सेवा दिए। कान्ति अस्पतालपछि धनकुटा सरुवा भएका डा आचार्यले ०५७ सालमा उत्कृष्ट काम गरेबापत गोरखा दक्षिणबाहु पाएका थिए। तत्कालिन समयमा उनलाई नगरप्रमुखले समेत नगदसहित सम्मान गरेको थियो।
त्यसपछि बालस्वास्थ्य, पूर्वाञ्चल र पश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय हुँदै उनी स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख भएका थिए। विगत २० महिनादेखि इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा प्रमुखमा रहेका डा आचार्यले करार र स्थायी गरी ३० वर्ष सरकारी सेवामा काम गरे।