काठमाडौं- थाइराइड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि नेपाल भित्र्याइएको छ। अल्ट्रासाउन्ड मेसिनबाट नै सफ्टवेयरको सहयोगमा क्यान्सरको अवस्था पत्ता लगाउने उक्त प्रविधि नेपाल हेल्थ केयर सोलुसनले नेपाल भित्र्याएको हो।
उक्त नयाँ सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सहजै पत्ता लगाउन सकिन्छ। ‘एम्क्याड–भिटी’ नाम दिइएको उक्त नयाँ सफ्टवेयर अमेरिकाबाट एफडिए प्रमाणपत्र समेत पाइसकेको छ।
उक्त नयाँ प्रविधिका विषयमा नेपालका डाक्टर, स्वास्थ्यकर्मी तथा सरोकारवालालाई समेत जानकारी दिइएको छ। होटल याक एन्ड यतिमा आयोजित कार्यक्रममा बायोमेड कर्पोरेसनका उपाध्यक्ष जेम्स लिले यो प्रविधि विश्वमै पहिलो पटक निर्माण गरिएको जानकारी दिए।
कार्यक्रममा नेपाल रेडियोलोजिष्ट एसोसिएसनका अध्यक्ष डा स्वयंप्रकास पण्डितले यो प्रविधिले थाइराइडका स–साना ट्युमर समेत पत्ता लगाउन सकिने बताए। उनका अनुसार यो प्रविधिको प्रयोगबाट सुइको माध्यमबाट थाइराइडको मासु निकालिने बाएप्सीलाई ८० प्रतिशतले घटाउन सकिन्छ।
नाक, कान, घाँटीरोग विशेषज्ञ डा तोरण केसीले प्रविधिको विकाससँगै रोगको पहिचानमा निकै सहयोग मिलरहेको बताए। ‘यो प्रविधि पनि निकै उपयोगी देखिएको छ,’ उनले भने, ‘यो प्रविधिबाट रोग पहिचान गर्न पुरानो प्रविधिभन्दा सस्तो पनि पर्ने देखिएको छ।’
यो सफ्टवेयर जुनसुकै अल्ट्रासाउन्डका मेसिनमा राख्न मिल्ने उपाध्यक्ष लिले जानकारी दिए। यो प्रविधिबाट जाँच गर्दा बायोप्सीमा लाग्ने शुल्कभन्दा निकै सस्तो पर्ने बताइएको छ।