काठमाडौं– स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीको जिम्मेवारी हेरफेर भएको छ । केही समयदेखि रिक्त स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा गुणराज लोहनी नियुक्त भएका छन् । उनी स्वास्थ्य बीमा बाेर्डका कार्यकारी निर्देशक थिए ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले साेमबार मन्त्रीस्तरीय निर्णय गरी जिम्मेवारी हेरफेर गरेकी हुन्। स्वास्थ्य मन्त्रालयको महत्वपूर्ण मानिने नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखामा महेन्द्र श्रेष्ठलाई ल्याइएको छ । उनी जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख थिए । नीति तथा याेजनाकाे जिम्मेवारी सम्हालिरहेका डा श्रीकृष्ण गिरीलाई स्वास्थ्य बीमा बाेर्डमा सरुवा गरिएको छ।
परिवार स्वास्थ्य महाशाखाको प्रमुखको जिम्मेवारी डा तारा पोखरेललाई दिइएको छ ।
स्वास्थ्य मन्त्रालयको चिकित्सा महाशाखाको जिम्मेवारी डा दिपेन्द्र रमण सिंहले पाएका छन् । उनले सम्हालिरहेको अनुगमन महाशाखामा व्यवस्थापन महाशाखाका डा भीमसिंह टिंकरीलाई ल्याइएको छ । व्यवस्थापन महाशाखाको जिम्मेवारी डा विकास देवकाेटाले पाएका छन्।
चिकित्सा महाशाखाका प्रमुख डा भोलाराम श्रेष्ठलाई वीर अस्पताल सरुवा गरिएको छ ।
यसैगरी अाजबाट डा भीम अाचार्य सेवानिवृत्त भएपछि रिक्त इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा बीर अस्पतालका डाक्टर केदार सेन्चुरीलार्इ नियुक्त गरिएको छ।