पोखरा– मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारी र प्रहरीबीचको झडपका क्रममा पक्राउ गरिएका आन्दोलनकारी रिहा भएका छन्।
अस्पताल तोडफोड र प्रहरीमाथि ढुंगा प्रहार गरेको आरोपमा आन्दोलनरत कर्मचारी पक्राउ भएपछि सोमबार दिनभरि जस्तो भएका वार्तापछि साँझ ६ बजे पक्राउ परेका एक दर्जनभन्दा बढी कर्मचारीलाई रिहा गरिएको हो।
श्रम कार्यालय, जिल्ला प्रशासन कार्यालय, नेपाली कांगे्रस, नेकपा एमाले र माओवादी केन्द्र निकट मजदुर संगठनका साथै प्रहरी प्रशासनबीच वार्ता भएको थियो। मंगलबारबाट अस्पताल प्रसासन र आन्दोलनरत कर्मचारीबीच वार्त गर्ने सहमति पनि भएको छ। झडपमा घाइते भएका कर्मचारीलाई अस्पताल प्रसासनले नै उपचार गरिदिने भएको छ।
अस्पतालमा कार्यरत ननटिचिङ कर्मचारी विगत केही समयदेखि तलब बृद्धि, विदा, स्थायी नियुक्ति लगायत विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा उत्रिएका छन्। सोमबार बिहान धर्नाकै क्रममा आन्दोलनकारीहरु र प्रहरीबीच झडप भएको थियो।