काठमाडौं– चीनबाट एमबिबिएस गरेका एक डाक्टरले त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट एमबिबिएस गरेको भन्दै बिरामी झुक्याउने गरेको पाइएको छ।
चीनको छोङछिङ मेडिकल कलेजबाट सन् २०१० मा एमबिबिएस गरेका डा सुजित प्रधानले त्रिभुवन विश्वविद्यालयबाट एमबिबिएस गरेको भन्दै बिरामी झुक्याउँदै आएका हुन्।
दाङको लमहीस्थित बिपी पोलिक्लिनिकमा कार्यरत डा प्रधानले आफ्नो लेटर हेडमै त्रिभुवन विश्वविद्यालयमा अध्ययन गरेको खुलाएका छन्। जब कि मेडिकल काउन्सिलले दिएको दर्ता नम्बरमा उनले चीनबाट एमबिबिएस गरेको उल्लेख छ।
पोलिक्लिनिक सञ्चालकका अनुसार डा प्रधानले त्यहाँ फुलटाइम डाक्टरका रुपमा २ वर्षदेखि बिरामी हेर्दै आएका छन्।
डा प्रधानले आफूले बिरामी ठग्ने उद्देश्यले एमबिबिएस त्रिभुवन विश्वविद्यालयबाट पास गरेको नलेखेको दाबी गरेका छन्। उनले सन् २०१२ मा तेस्रो पटकमा मेडिकल काउन्सिलको दर्ता परीक्षा पास गरेका थिए। उनको काउन्सिल दर्ता नम्बर ११७६१ हो।
चीनमा एमबिबिएस अध्ययन गरेर आएका डाक्टरप्रति विरामीको विश्वास नरहेको अस्पताल सञ्चालकहरु नै बताउँछन्। मेडिकल काउन्सिलको दर्ता परीक्षामा पनि चीन अध्ययन गरेका बिरामी बारम्बार र धेरैको संख्यामा अनुत्तीर्ण हुँदै आएका छन्। चीनमा अध्ययन गरेको उल्लेख गर्दा बिरामी नआउने डरले डा प्रधानले एमबिबिएस त्रिभुवन विश्वविद्यालय लेखेर बिरामी झुक्याएको स्थानीयहरु बताउँछन्।

मेडिकल काउन्सिलका रजिस्ट्रार डा दिलिप शर्माले आफूले पढेको विश्वविद्यालयको पहिचान परिवर्तन गरी अभ्यास गर्नु आचारसंहिता विपरीत भएकाले त्यसो गरेको पाइए कारबाही गरिने जनाए।