नेपालगन्ज- बाँकेको लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण थालिएको ६ वर्ष भइसके पनि निर्माण पूरा नहुँदा दयनीय रुपमा सञ्चालन भइरहेको छ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने लक्ष्मणपुरमा १५ शय्याको अस्पताल भवन नबन्दा त्यस क्षेत्रका करिब ४० हजार जनताले आधारभूत स्वास्थ्य उपचार सेवा पाउनबाट वञ्चित छन्। आफ्नै भवन नहुँदा स्वास्थ्य केन्द्र भाडाका तीन वटा कोठामा सञ्चालन हुँदै आएको छ।
चिकित्सक र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुँदा स्थानीयहरु सामान्य उपचारका लागि पनि सीमावर्ती भारतीय बजार पुग्न बाध्य छन्। स्वास्थ्य केन्द्र वर्षौंदेखि करारमा रहेका अहेबको भरमा चल्दै आएको छ।
सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरी केन्द्रमा एमबिबिएस डाक्टरसहित एक दर्जनभन्दा बढी स्वास्थ्यकर्मीको दरबन्दी हुने व्यवस्था गरेपछि २०५० सालमा केन्द्र स्थापना भएको थियो। केन्द्र स्थापना भएको २४ वर्षको अवधिमा नियमित रुपमा ३ महिना पनि चिकित्सक केन्द्रमा नबसेको स्थानीय बताउँछन्। केन्द्रमा अहिले करारमा रहेको अहेब र अनमी गरी ६ जना कार्यरत छन्।
उपचारका लागि दैनिक ५० देखि ६० जना बिरामी आउने यो केन्द्रमा औषधिको समेत अभाव हुने गरेको छ। केन्द्रमा सरकारले निःशुल्क उपलब्ध गराउनुपर्ने ५८ किसिमका औषधिमध्ये मुस्किलले १५ किसिमका औषधि मात्र रहेको अहेब अशोककुमार यादवले बताए।
१८ महिनाभित्र निर्माण पूरा गर्नेगरी निर्माण व्यवसायी गगन शाक्यले करिब ३ करोड १९ लाख रुपैयाँमा तीनतले भवन निर्माणको ठेक्का लिएका थिए। तर, ठेक्का लिएको ६ वर्षमा भवन निर्माणको काम ६५ प्रतिशत मात्रै भएको छ।
१८ महिनामा निर्माण हुनुपर्ने भवन बनाउन यति लामो समयमा पनि पूरा नहुनुमा निर्माण व्यवसायी र शहरी विकास तथा भवन निर्माण विभाग नेपालगन्जका कर्मचारीहरुको बदमासी कारक रहेको नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताए।
सरकारले अस्पातल भवन निर्माणमा लापरवाही गर्ने कर्मचारी र ठेकेदारमाथि कारबाही गरी एक वर्षदेखि अलपत्र अवस्थामा रहेको भवन निर्माण पूरा गरेर चिकित्सक सहित स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने स्थानीय जनप्रतिनिधिहरु बताउँछन्।