रुपन्देही – प्रदेश ५ का सवै गाउँपालिका र नगरपालिकामा कम्तिमा १५ बेडको अस्पताल बनाइने भएको छ। जिल्ला अस्पताल क्षेत्रीय अस्पताल तथा अञ्चल अस्पताल भएको स्थान बाहेक अन्य गाउँपालिकामा अस्पताल बनाइने भएको हो।
प्रदेश नं ५ का सामाजीक विकास मन्त्री सुर्दशन बरालले भने हामीले ५ वर्षभित्र प्रदेश ५ का १२ जिल्लाका सबै गाउँपालिकामा कम्तिमा एउटा १५ बेडको अस्पताल बनाउने सोच अनुसार काम सुरु गरेको बताए । उनले भने, ‘हामीले अस्पताल निर्माण कार्यक्रमलाई प्राथामिकता दिएर बजेट बनाएका छौं ।’ उनले ५ वर्षभित्र कुपोषण अन्त्य गर्ने कार्यक्रम समेत रहेको बताए ।
१२ जिल्ला रहेको प्रदेश नं ५ लाई स्वास्थ्य क्षेत्रमा अरुप्रदेश भन्दा फरक तरिकाले लैजाने बताउँदै मन्त्री बरालले भने, ‘हामीले स्वास्थ्य बीमा सुरु गर्ने तयारी गरेका छौं । बीमा गर्ने सक्नेले आफैँ पैसा तिरेर गर्न र तिर्न नसकेकोलाई सामाजिक विकास मन्त्रालयले ब्यबस्था गरिदिने छ।’
२५ सयमा ५ जनाको उपचार हुने ब्यबस्था रहेकाले बीमालाई आफूले बढी जोड दिएर काम गर्ने उनले बताएका छन्। त्यस्तै गाउँमा क्लिनिक वा अस्पताल भएपनि ल्याबको अभाव रहेको आफूले बुझेको बताउँदै त्यसमा जोड दिने बताए । मन्त्री बरालले १२ जिल्लामै यसका लागि तयारी भइरहेको भन्दै आफ्नो प्रदेशका जनतालाई स्वास्थ्यकर्मी, औषधी र चिकित्सकको अभावमा अकालमा ज्यान जाने अवस्थाको अन्त्य गर्ने दाबी गरे ।
थारु जातिमा रहेको सिकलसेल एनिमिया अन्त्यको लागि पहल गर्ने पनि उनले जानकारी दिए ।