काठमाडौं- सरकारी स्वामित्वको एक मात्र औषधि उत्पादक कम्पनी नेपाल औषधि लिमिटेडले ५० हजार चक्की टयाब्लेट सिटामोल वीर अस्पताललाई बेच्ने भएको छ।
लिमिटेडका महाप्रबन्धक डा रोभसकुशम सुवेदीका अनुसार लिमिटेडले ७ वर्षपछि पुर्नजीवन पाएको हो। लिमिटिडेल अहिले ५ लाख ट्याब्लेट सिटामोल उत्पादन गरेको छ भने बाँकी ५ लाख उत्पादनको प्रक्रियामा छ।
‘हाल उत्पादित ५ लाख ट्याब्लेट औषधिमध्ये ५० हजार वीर अस्पताललाई बिक्रि गर्न लागेका हौँ’ महाप्रबन्धक सुवेदीले भने, ‘आइतबारबाट देशभरी नै बिक्रिका लागि लैजाने भएका छौं।’
उनका अनुसार लिमिटेडले 11 संगठनले तोकेको कुशल उत्पादन अभ्यास (जिएनपी ) अनुसार नै औषधि उत्पादन गर्न थालेको छ। प्रयोगशाला पनि गुण तथा नापतौल नियन्त्रण विभागको मापदण्ड अनुसार नै बनाइएको छ ।’
लिमिटेडबाट उत्पादित सिटामोल सर्वसाधरणले प्रति ट्याब्लेट एक रुपैयाँमा खरिद गर्न सक्ने सुवेदीले जानकारी दिए।
फागुनमा ८० हजार चक्की औषधिको परिक्षण उत्पादन सफल भएपछि लिमिटेडले बजारमा औषधि पठाउन लागेको हो। सिटामोल उत्पादनका लागि लिमिटेडले ३ वटा नयाँ टयाब्लेट कम्प्रेसर मेसिन खरिद गरेको थियो भने दुइवटा पुरानै मेसिन मर्मत गरेको थियो ।
औषधिमा आत्मनिर्भर बन्ने उद्देश्यले २०२९ सालमा लिमिटेड स्थापना भएको थियो। उद्योगले २०६० सालसम्म आइपुग्दा १ सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो। तर, 11 संगठनको मापदण्ड जिएमपी पूरा गर्न नसकी २०६७ सालदेखि उद्योग बन्द भएको थियो।
लामो समय बन्द भएको औषधि लिमिटेड गत वर्षदेखि सञ्चालनमा आएको थियो। सञ्चालनमा आएपछि जीवनजल तथा डिस्टिलरी वाटर उत्पादन गर्दै आएको छ। लिमिटेडले गत वैशाख २४ बाट जीवनजल उत्पादन गरी बजारमा पठाएको हो।