काठमाडौं– स्वास्थ्य मन्त्रालयको नयाँ संरचनाप्रति स्वास्थ्य मन्त्रालयका पूर्वसचिव, स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशकदेखि डाक्टरसम्मले विरोध गरेका छन्। स्वास्थ्य क्षेत्रको विकासका लागि सुझाव संकलन गर्न बोलाइएको बैठकमा उनीहरुले विरोध गरेका हुन् ।
स्वास्थ्य सचिव पुष्पा चौधरी र मन्त्रालयका सिमित व्यक्तिको संलग्नतामा बनाएर पठाइएको उक्त नयाँ संरचनामा प्रशस्त छलफल नगरिएको यस विरोधले देखाएको छ । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल 4 संघ, सरकारी चिकित्सक संघ समेतका पेशागत संगठनले यसअघिदेखि नै संरचनाका विषयमा असहमति जनाइरहेका छन् ।
संरचनामाथि व्यापक छलफल, वहश र राय सुझाव लिइनुपर्नेमा झन् लुकाइएको आरोप नेपाल चिकित्सक संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले लगाए । उनले भने, ‘स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गत (प्रदेश र स्थानीय तह)का संरचनाको प्रस्तावको खाका हामीले बहश र छलफलका लागि मागेका थियौं । मन्त्रालयले नदिएपछि सूचनाको हक अन्तर्गत गएर पनि माग्यौं । तर, पाइएन । अहिले एक अनलाइन (स्वास्थ्यखर डटकम)मा हेर्दा चित्तबुझ्दो लागेन । यसप्रति घोर आपत्ति छ ।’
एक करोड जनसँख्या हुँदा बनाइएकै संरचना र दरबन्दीलाई ३ करोड पुग्दा पनि निरन्तरता दिएकाले जन अपेक्षा पूरा हुनेमा उनले आशंका व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालयका पदाधिकारीले आफू बस्ने ठाउँ हेरेर पुनर्संरचनाको खाका तयार गरेको जस्तो देखिएको पूर्व सचिव डा सेनेन्द्रराज उप्रेतिले बताए । उनलर् भने, ‘हाम्रो काम के हो ? भन्दा पनि हामी कुन कुर्चीमा बस्ने ? भन्ने मनोविज्ञानबाट संघीय शासनको संरचना बनाएको देखिन्छ ।’ उनले प्रोफेशनल काउन्सिल,प्रतिष्ठान लगायतका विषयमा संरचनाले बोल्न नसकेको पनि उल्लेख गरे । पूर्व सचिव डा सुधा शर्माले पनि संरचनाको परिकल्पना स्थानीय स्तरसम्म नपुगेको बताइन् । ‘दीर्घकालिन लक्ष्य र स्वास्थ्यको गुणस्तर सुनिश्चितताका लागि संरचनामा बोलिएको छैन ।’
पूर्वसचिव डा प्रवीण मिश्रले पनि संविधानको मर्म बमोजिम नभएको भन्दै असन्तुष्टि पोखे ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक यशोवद्र्धन प्रधानले संघीयताको मोडेल अनुसार स्वास्थ्य मन्त्रालयको पुनर्संरचना नभएको बताए । उनले भने, ‘केन्द्रीकृत मानसिकताबाट ग्रसित भएर उक्त प्रस्तावित खाका तयार भएको जस्तो देखिन्छ । संघीयतामा अधिकारी स्थानीय स्तरमा प्रत्योजन गर्ने भनिएको छ । तर, यहाँ सवै अधिकार केन्द्रमै राखिएको देखिन्छ ।’
राष्ट्रिय चिकित्सक संघका अध्यक्ष डा सन्तोष पौडेलले मन्त्रालयको संरचनामा उपचार सेवालाई नजरअन्दाज गरिएको आरोप लगाए । उनको कुरामा सहमति जनाउँदै सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले पनि प्रस्तावित संरचनाप्रति आफ्नो संगठनको समेत असुन्तुष्टि रहेको जनाए ।
घटाएर पठाउन निर्देशन
स्वास्थ्य मन्त्रालय र त्यस अन्तर्गतको संरचना ठूलो भएको भन्दै घटाएर पेश गर्न निर्देशन दिइएको छ । मुख्य सचिव लोकदर्शन रेग्मीले यस्तो निर्देशन दिएका हुन् । मुख्यसचिव रेग्मी, स्वास्थ्य सचिव पुष्पा चौधरी र सामान्य प्रशासन मन्त्रालयका अधिकारीबिच बसेको बैठकले केही छरितो बनाउने सहमति समेत गरेको बुझिएको छ ।
विशेष गरी केन्द्रमा स्वास्थ्य सेवा विभाग र राष्ट्रिय रोग नियन्त्रण केन्द्र जस्तो दुई ठूला संरचना रहेको भन्दै स्वास्थ्य मन्त्रालयको प्रस्तावित संरचनालाई थप छलफल गरी छरितो बनाउन भनिएको हो ।
प्रस्तावित संरचनामा स्वास्थ्य सेवा विभाग अन्तर्गत ५ वटा महाशाखा रहने र राष्ट्रिय रोग नियन्त्रण केन्दमा पन्रि ५ वटा महाशाखा रहने गरी प्रस्ताव गरिएको छ ।