काठमाडौं- स्वास्थ्य मन्त्रालयले आगामी आव २०७५/७६ को बजेट तथा कार्यक्रम तर्जुमा बारे सातै प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीसँग अन्तक्रिया गर्ने भएको छ।
स्वास्थ्य राज्यमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयले यही चैत २६ र २७ गते काठमाडौँमा अन्तक्रियाका लागि सातै प्रदेशका सामाजिक विकासमन्त्री, सामाजिक विकास सचिव, सो मन्त्रालयका स्वास्थ्य संयोजक र स्वास्थ्यको योजना हेर्ने अधिकृतसँग अन्तक्रिया गर्न पत्र पठाएको छ।
मन्त्रालयले गत चैत १२ गतेको राज्यमन्त्रिस्तरीय निर्णयअनुसार सातै प्रदेशमा आजसम्म आमन्त्रण पठाइसकिएको जनाएको छ। मन्त्रालयका नीति योजना तथा अन्तर्राष्ट्रिय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठले अन्तक्रियामा आगामी बजेटमा स्वास्थ्यसम्बन्धी कार्यक्रम, बजेट बाँडफाँड र स्वास्थ्यका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने जानकारी दिए।
‘हामीले प्रदेश नम्बर ३ का मुख्यमन्त्रीलाई पनि बोलाएका छौँ, अन्तक्रियामा प्रदेशले कस्तो स्वास्थ्य नीति बनाउँदै छन्, स्वास्थ्यका कार्यक्रम प्रभावकारी बनाउन के गर्ने, बजेट कसरी व्यवस्थापन र वितरण गर्नेलगायत स्वास्थ्यका सम्पूर्ण विषयमा दुई दिनसम्म छलफल हुनेछ।’
कार्यक्रममा हरेक प्रदेशका स्वास्थ्य संयोजक, स्वास्थ्य योजना अधिकृतले अहिले सम्मको स्वास्थ्यका गतिविधिको प्रस्तुतीकरण गर्ने बताइएको छ। रासस