नेपालगन्ज– उच्च अदालत तुल्सिपुर, नेपालगन्ज इजलाशले बाँकेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य सेवा उपलब्ध गराउन जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेलाई आदेश दिएको छ।
उच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र खुसीप्रसाद थारुको इजलाशले लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने उपकरण र औषधि समेतको प्रबन्ध गरी प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउनु भन्ने आदेश दिएको हो।
उच्च अदालतले लक्ष्मणपुर क्षेत्रमा आकस्मिक स्वास्थ्य सेवा, महिलाको प्रजनन् स्वास्थ्य उपचारको आवश्यक व्यवस्था मिलाउनका लागि जिल्ला जनस्वास्थ्य कार्यालयसहित गाँउपालिकालाई परमादेशसहितको आदेश दिएको अधिवक्ता विश्वजित तिवारीले बताए।
स्वास्थ्यखबरले लक्ष्मणपुर स्वास्थ्य केन्द्रबारे प्रकाशित गरेको समाचारलाई आधार मानेर सूचना ताथ मानव अधिकार अनुसन्धान केन्द्रका सदस्य एवं स्थानीय बासिन्दा अरुणकुमार तिवारीले २०७४ मसिंरमा जिल्ला जनस्वास्थ कार्यालय बाँके, नरैनापुर गाँउपालिकाको कार्यालय बाँके, प्राथमिक स्वास्थ्य केन्द्र लक्ष्मणपुर, प्राथमिक स्वास्थ्य केन्द्र लक्षमणपुर सञ्चालन तथा व्यवस्थापन समितिलाई विपक्षी बनाई उच्च अदालत तुल्सीपुर, नेपालगन्ज इजलाशमा रिट दर्ता गराएका थिए।
सो सार्वजनिक सरोकारको रिट निवेदनमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा चैत्र १४ मा सो विषयमाथि बहस भई सो आदेश भएको हो।
उच्च अदालत नेपालगन्जबाट भएको आदेशलाई सह्रानीय भएको जनाउँदै नरैनापुर गाँउपालिकाले स्वागत गरेको छ। गाँउपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले विशेषज्ञ चिकित्सक नभएर स्वास्थ्य समस्या खेप्दै आएका जनताका लागि सो आदेश निक्कै महत्वपूर्ण भएको बताए।
दुर्गम क्षेत्रमा दरबन्दी भए पनि अनेकौं बहानाबाजी गरेर सुविधा सम्पन्न ठाउँमा बस्दै आएका स्वास्थ्यकर्मीलाई दरबन्दी भएकै स्थानमा बसेर जनताको सेवा गराउने वातावरण मिलाउन सहज हुने अध्यक्ष साहले बताए।
२०५० सालमा स्थापना भएको लक्ष्मणपुर स्वास्थ्य चौकीमा स्थापना कालदेखि नै दरबन्दी अनुसारका विशेषज्ञ चिकित्सक बसेका छैनन्। अध्ययन बिदामा रहेका चिकित्सकहरुको दरबन्दी लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा राखेर स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले लक्ष्मणपुर क्षेत्रका जनताको स्वास्थ्यमा खेलबाड गर्दै आएका थिए।
लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा दरबन्दी भएका आधा दर्जनभन्दा बढी चिकित्सकले छात्रवृत्तिमा उच्चशिक्षा पूरा गरे पनि त्यसपछि एक हप्ता पनि दरबन्दीमा आएर जनताको सेवा नगरेको अध्यक्ष साहले बताए।
लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा दक्ष स्वास्थ्यकर्मी, उपकरण तथा औषधि नहुँदा त्यस क्षेत्रका जनता आधारभूत स्वास्थ्य सेवाका लागि पनि सीमावर्ती भारतीय अस्पताल र निजी क्लिनिकमा जान विवश छन्।