नेपालगञ्ज- बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ।
उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाक अहमद साहले जानकारी दिए।
नरैनापुर गाउँपालिका—२ लक्ष्मणपुरमा २०५० सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सकको दरबन्दी भए पनि त्यहाँ चिकित्सक नियमित बस्ने गरेका थिएनन्।
अदालतबाट भएको सो आदेशले गाउँपालिकाका नागरिकलाई ठूलो राहत मिलेको अध्यक्ष साहले बताए। उनले स्वास्थ्य केन्द्रमा चिकित्सकलाई नियमित राख्न गाउँपालिका क्षेत्रमा निर्माण भइरहेको अस्पतालको काम छिट्टै सक्ने प्रतिबद्धता पनि व्यक्त गरे। रासस