विश्वका ५२ औं धनी व्यक्ति र संसारकै चर्चित गणितज्ञ। फोब्र्स म्यागजिनका अनुसार सन् २०१८ को सुरुवातमा जोसँग २० बिलियन अमेरिकी डलर निजी सम्पत्ति छ। जो पछिल्लो एक दशकदेखि हरेक दुई वर्षमा जीवनसंगिनीसँग नेपाल आउँछ र चहार्छ कालीकोट, प्युठान, म्याग्दी जस्ता विकट जिल्लाका डाँडाकाँडा।
उनको नाम हो– डा जेम्स ह्यारिस साइमन्स। उनी जिम साइमन्सका नामले बढी चिनिन्छन्। उमेरले ८० टेक्न लागेका यी खर्बपति श्रीमती मर्लिनका साथ किन चहार्छन् नेपालका कुना कन्दरा ? निजी विमानमा संसार यात्रा गर्ने मान्छे किन पैदलै नेपालका उकालीओराली गरिरहेका होलान्?
उनीबारे थाहा पाउने बित्तिकै धेरैका मनमा उब्जिने प्रश्न हुन् यी। हाम्रो मनमा पनि यस्तै प्रश्नका पोका थिए। जिम साइमन्सको नेपाल मोहबारे दोस्रो व्यक्ति वा इन्टरनेटबाट थाहा नपाइएको होइन, तर स्वास्थ्य खबरपत्रिका टिम उनीबाटै यी कुरा जान्न चाहन्थ्यो।
नेपाल आएका बेला उनीसँग भेटेर यसबारे कुराकानी गर्ने हाम्रो चाहना पूरा हुन सहज थिएन। नेपाली मात्रै होइन, उनका विदेशी निकटस्थसँग पनि हामीले उनीसँग 9 गर्ने चाहना दर्शाएका थियौं। तर, साइमन्स त्यसका लागि तयार हुने विषयमा उनीहरु सशंकित थिए। उनीबारे इन्टरनेटमा खोजी हेर्दा पनि थाहा भयो, सञ्चार माध्यमको सहज पहुँचमा छैनन् उनी।
विकिपिडियामा स्पष्ट लेखिएको छ– साइमन्स चर्चामा आउन चाहँदैनन्। सञ्चार माध्यालाई अन्तर्वार्ता त विरलै दिन्छन्।
इन्टरनेटमा खोज्दा थाहा लाग्यो, अमेरिकी अर्थ–राजनीतिमा प्रभाव जमाउन सफल यी गणितज्ञसँग निकै कम सञ्चार माध्यामले मात्रै कुराकानी गर्न पाएका छन्। साइमन्ससँग कुराकानी गर्नुअघि उनलाई नजिकबाट चिन्ने हाम्रा एक विदेशी मित्रको प्रतिक्रिया यस्तो थियो, ‘उनी मिडिया 9मा त्यति रुची राख्दैनन्। बरु त्यो समय म्याथम्याटिक्स पढाउन खर्च गर्छु भन्ने उनको धारणा छ।’
यति जानकारी पाए पनि हामीले उनीसँग कुराकानी गर्ने प्रयास जारी राख्यौं। निक साइमन्स इन्स्टिच्युटका निर्देशक डा अनिलबहादुर श्रेष्ठ र वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह मार्फत हामीले प्रस्ताव पुर्यायौं। स्वास्थ्य खबरपत्रिकाका विषयमा डाक्टरद्वयले बताइदिएपछि साइमन्स जोडी (जिम र मर्लिन साइमन्स) कुराकानीका लागि राजी भयो।
कुराकानी गर्न राजी हुनुको एउटै कारण थियो, उनीहरुका एक छोरा निक साइमन्स मार्फत् नेपालको स्वास्थ्य क्षेत्रसँग जोडिएको गहिरो भावनात्मक नाता। त्यही भावनाले हरेक सेकेन्ड महत्वपूर्ण कर्ममा खर्चिने खर्बपति गणितज्ञले स्वास्थ्य खबरपत्रिकाका लागि झन्डै एक घन्टा लामो समय दिए।
राजधानीको सोल्टी होटेलमा भएको भेटमा हामीले साइमन्स जोडीलाई प्रश्न गर्यौं, ‘तपाईंहरुले सेवाका लागि नेपालको ग्रामीण क्षेत्र नै किन छान्नुभयो ?’
उनीहरुको उत्तर थियो, ‘दिवंगत छोरा निकको सपनालाई पछ्याएका हौं। नेपालको स्वास्थ्य क्षेत्रमा सेवा गरेर छोराको सपना पूरा गरेका हौं। नेपालमा काम गर्दा र यहाँ आउँदा ऊ हामीसँगै रहेको महसुस हुन्छ।’
निकको नेपाल साइनो
१६ वर्षअघि सन् २००२ मा २२ वर्षीय एक अमेरिकी युवा निक साइमन्स कामका सिलसिलामा नेपाल आए। सांस्कृतिक तथा भाषिक अवरोधका बाबजुद उनले ९ महिना नेपाल बसेर काम गरे। न्युयोर्क फर्किनुअघि उनी नेपालमा निरन्तर योगदान दिने निर्णयमा पुगे। अमेरिकास्थित घर पुगेपछि उनले आमालाई भने, ‘यदि मैले आफ्नो बाँकी जीवन नेपालमै बिताउन चाहें भने तपाईं अचम्ममा नपर्नुहोला।’
नेपालप्रतिको प्रेमले गर्दा निकले आफ्नो केही सयम नेपालको चिकित्सा क्षेत्रका लागि खर्चिने निधो गरेका थिए। तर, सन् २००३ को गर्मियामको एकदिन इन्डोनेसियाको बालीमा स्विमिङ गर्दै गर्दा उनको निधन भयो। निकले संसार छाडे पनि उनको सोचले पूर्णता पाउनुपर्छ भन्ने उनका बुवाआमा सहित परिवारलाई लाग्यो।
निककी आमा मर्लिन भन्छिन्, ‘कुन अभिभावकलाई आफ्नो सन्तानको सपना पूरा गर्न मन लाग्दैन र ? छोरा बितेर गए पनि उसको सपना पूरा गर्ने अभिभावकीय दायित्व हामीले निर्वाह गर्ने सोच्यौं।’
साइमन्स परिवार र उनका केही साथी नेपाल आएर यहाँको अवस्थाबारे जानकारी लिएपछि उनीहरुले स्वास्थ्य क्षेत्रमा लगानी गर्न थालेका हुन्।
छोराको सम्झनामा उनीहरुले निक साइमन्स इन्सिच्युट (एनएसआई) नामक संस्था नेपालमा स्थापना गरेका छन्। एनएसआईले नेपालको ग्रामीण स्वास्थ्यका लागि उपयुक्त चिकित्सकीय जनशक्ति एमडिजिपी, बिएसएलटी उत्पादन गर्ने र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धि गर्ने लगायतका काम गरिरहेको छ।
देशभर निक साइमन्सहरु
साइमन्स परिवारले नेपालमा काम गरिरहेका अमेरिकी डाक्टर मार्क जिम्मरम्यानलाई भेटे। उनी मार्फत् सुरुमा पाटन अस्पतालमा सहयोग गरे। साइमन्स परिवारको चाहना बुझेका डा जिम्मरम्यानले त्यसपछि नेपालको ग्रामीण भेगमा पुगेर अध्ययन गरे। डा जिम्मरम्यानको समूहले स्थानीयलाई सोध्यो, ‘स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुपर्दा तपाईंहरुलाई के होस् भन्ने चाहनुहुन्छ ?’ धेरैको साझा उत्तर थियो, ‘डाक्टर।’ डाक्टर आएदेखि अपरेसन गरेर बच्चा जन्माउने, भाँचिएका हातखुट्टा शल्यक्रिया गरेर जोडिदिने, राम्रो उपचार पाउने ग्रामीण जनताको अपेक्षा थियो।
ग्रामीण तहका मानिसले अपेक्षा गरेका सबै सेवा दिन धेरै विशेषज्ञ डाक्टर चाहिने देखेपछि डा जिम्मरम्यान ‘एमडिजिपी’ (एमडी इन जेनेरल प्राक्टिस) डाक्टर तयार गर्नु उपयुक्त हुने निक्र्यौलमा पुगे। छात्रवृत्तिमा पढाएर एमडिजिपी डाक्टर तयार गरी ग्रामीण भेगमा पठाउने प्रस्ताव साइमन्स परिवारकहाँ जिम्मरम्यानले पेश गरे। साइमन्स परिवारले सुरुमा एक जना त्यसपछि ३ जना गर्दै हालसम्म ७५ जना डाक्टरलाई एमडिजिपी पढाइसकेको छ। सोही छात्रवृत्तिमा एमडिजिपी पढेका हाल एनएसआईकै वरिष्ठ कार्यक्रम प्रबन्धक डा कासिम शाह सम्झन्छन्, ‘हामीलाई छात्रवृत्ति दिने बेला निक बितेर गए पनि नेपालमा धेरै निक जन्माउने चाहना अन्तर्गत तिमीहरुलाई छात्रवृत्तिमा पढाइँदैछ भनिएको थियो। त्यही अनुसार हामीले पढ्यौं र काम गर्यौं।’
अहिले निक साइमन्स इन्सिच्युटले ‘ग्रामीण स्वास्थ्यकर्मी सहयोग कार्यक्रम’ भनेर १८ जिल्लामा आफैंले पढाएका एमडिजिपी डाक्टर पठाएको छ। बाजुरा, बझाङ, दार्चुला, डोटी, कालीकोट, सल्यान, प्युठान, बर्दिया, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, म्याग्दी, दोलखा, महोत्तरी, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा र खोटाङमा एमडिजिपी डाक्टर निक साइमन्स इन्सिच्युटको सहयोगमा कार्यरत छन्। आगामी दिन यो सहयोगलाई थप विस्तार गर्ने योजना रहेको एनएसआईका निर्देशक डा अनिलबहादुर श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘नेपालका धेरैभन्दा धेरै ग्रामीण भेगमा चिकित्सकीय सेवाको पहुँच पुगोस् भन्ने चाहना साइमन्स परिवारको छ। जनशक्ति उत्पादन बढ्दै जाँदा हामी सेवा विस्तार पनि गर्दैै लैजानेछौं।’
एनएसआईले डाक्टर र स्वास्थ्यकर्मीका लागि आवास मर्मत तथा निर्माणमा, अपरेसन थिएटर र डेलिभरी रुमका लागि पनि सहयोग गरिरहेको छ। अपरेसन थिएटर नर्स, एनेस्थेसिया, बायोमेडिकल इक्युपमेन्ट टेक्निसियनको तालिमका लागि पनि एनएसआइले सघाइरहेको छ।
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयसँग मिलेर अस्पताल शुद्धीकरण कार्यक्रम चलाइरहेको एनएसआईले देशका ८४ अस्पतालको व्यवस्थापनमा विभिन्न किसिमका वर्कसप, सहयोग, फलोअप लगायतका काम गरिरहेको छ। एनइएसआईले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रसँग मिलेर डाक्टर र नर्सका लागि विभिन्न तालिममा पनि सघाउँदै आएको छ।
साइमन्स परिवारको सहयोगका कारण नेपालका दुर्गम भेगका जनताको उपचार सेवामा पहुँच विस्तार भइहरेको छ। हालै बझाङजस्तो दुर्गम जिल्लामा आन्द्रा जोड्नेसम्मको शल्यक्रिया गरेका एमडिजिपी डा अरविन्द जोशी भन्छन्, ‘सिजरियन सेक्सन मात्रै होइन, हड्डी फ्याक्चर, एपेन्डिसाइटिस, पेट सम्बन्धी केही सर्जरी सेवा जिल्लामा दिइरहेका छौं।’
संसारमा एमडिजिपीलाई सर्जनका रुपमा लिइँदैन। तर, नेपालमा भने यस्ता आपतकालीन सर्जरीहरु गर्न सक्ने गरी उनीहरुलाई तयार गरिएको छ। नेपाल सरकारले विशेषज्ञ सेवा पुर्याउन नसकेका केही पहाडी जिल्लामा एनएसआईले एमडिजिपी डाक्टर पठाइरहेको डा श्रेष्ठ बताउँछन्। उनी भन्छन्, ‘दिवंगत निक साइमन्सको नेपाली स्वास्थ्य क्षेत्रमा काम गर्ने सपनाका कारण दुर्गम जिल्लामा मेडिकलका साथै केही अत्यावश्यक सर्जरी सेवाहरु दिन सम्भव भएको हो।’
नेपालमा सहयोग गरिरहेका विदेशी दाताहरुले कार्यक्रमको डिजाइन आफ्नो स्वार्थ अनुकूल गर्ने गरेको आरोप लाग्दै आएको छ। तर, एनएसआईले अनुसन्धान गरेर नेपालीको आवश्यकता अनुसार कार्यक्रम बनाइरहेको छ। नेपालीले नै नेतृत्व गरिरहेको इन्सिच्युटको आर्थिक सहयोगी साइमन्स परिवारको एउटा चाहना छ, ‘सकेसम्म नेपालका धेरै जिल्लामा आपतकालीन सर्जरी सेवा दिन सकियोस्।’
प्रोत्साहन र अनुभव आदानप्रदान
एनएसआईले हरेक वर्ष ग्रामीण भेगमा कार्यरत स्वास्थ्यकर्मीको सम्मेलन आयोजना गरिरहेको छ। डा साइमन्सका अनुसार आफूले भोगेका समस्या र अपनाएका उपायबारे छलफल गर्न यो सम्मेलन महत्वपूर्ण छ। त्यसैले ९ वर्षदेखि निरन्तर ग्रामीण भेगमा काम गर्ने स्वास्थ्यकर्मी भेला गराउने काम एनएसआइले गरिरहेको हो।
सम्मेलनमा सहभागीलाई आफ्ना अनुभवका साथै चिकित्सा क्षेत्रमा भइरहेका नयाँ प्रयोग र प्रविधिबारे जानकारी गराउने गरिएको कार्यकारी निर्देशक डा श्रेष्ठ बताउँछन्।
सम्मेलनमै उत्कृष्ट काम गर्ने एक जनालाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिँदै आएको छ। यसवर्ष पालिकोट स्वास्थ्य चौकी गुल्मीका सिनियर अहेब श्याम सुन्दर पोखरेललाई पुरस्कृत गरियो। यसअघि डा तरुन पौडेल, पोषराज श्रेष्ठ, अनुग्रा ठगुन्ना, रामशरण पौडेल, यशोदा ओझा, फिरोज राना, मेघरा जबन, बलदेव पाण्डे, लोकबहादुर नेपाली र बालगोपाल श्रेष्ठ पुरस्कृत भइसकेका छन्।