काठमाडौं- राजधानीमा चार दिने अन्तर्राष्ट्रिय डेन्टल इम्प्लान्ट सम्मेलन सुरु भएको छ। होटल याक एन्ड यतिमा अाजबाट सुरु भएको सम्मेलन मंगलबारसम्म चल्नेछ।
सम्मेलन नेप्लिज सोसाइटी अफ इम्प्लान्ट डेन्टिस्ट्रि (एनएसआइडी)को आयोजनामा भएको हो। डा पाण्डेका अनुसार हाल एनएसआइडीमा ६५ जना डाक्टर आवद्ध छन्। सम्मेलनमा नेपाल सहित विभिन्न देशका गरी करिब २ सय सहभागि छन्।
एनएसआइडीका अध्यक्ष डा निल पाण्डेका अनुसार इम्प्लान्टका क्षेत्रमा भएका विकास र प्रविधिका विषयमा जानकारी दिन अन्रािष्ट्रय सम्मेलनको आयोजना गरिएको बताए। उनका अनुसार चिकित्सा विज्ञानमा भएको विकासक्रम अनुसार नेपालमा पनि इम्प्लान्ट गर्ने क्रम बढ्दै गएका कारण यहाँका जनशक्तिलाई विश्व परिवेशमा भएका ज्ञानलाई सिकाउन सम्मेलन महत्वपूर्ण हुनेछ।

सम्मेलनमा चार वटा महादेशका गरी १३ जना विज्ञहरुले आफ्नो प्रस्तुती दिनेछन्। ‘विश्वका हरेक क्षेत्रमा के भइरहेको छ कसरी इम्प्लान्टको विकास र विस्तार भएको छ भन्ने ज्ञान यी प्रस्तुतिबाट थाहा पाइनेछ,’ उनले भने, ‘यो हाम्रा लागि सिक्ने ठूलो अवसर हो।’

इम्प्लान्टले अन्य दाँतमा असर नगर्ने र कम्प्युटरको प्रयोगबाट सहज रुपमा गर्न सकिने भएकाले भविष्यमा यसको प्रयोग व्यापक हुँदै जाने डा पाण्डे बताउँछन्। इम्प्लान्ट भनेको कुनै कारणले दाँत निकालेको वा विग्रेको स्थानमा शल्यक्रियाद्वारा दाँतको हाडमा राखिने टिटनियम नामको धातुबाट बनेको वस्तु हो। यसलार्इ दाँतको जराका रुपमा पनि लिन सकिन्छ। यसको उपयोग गर्दा वरिपरि रहेका मजबुत दाँतलाई घटाउनु, मिलाउनु वा असर गर्नुपर्दैन।