काठमाडौं– जिल्ला बन कार्यालय चितवनले कलेज अफ मेडिकल साइन्सेज भरतपुर (पुरानो मेडिकल कलेज) सञ्चालकलाई पक्राउ गर्ने जनाएको छ । जिल्ला बन कार्यालय चितवनका प्रमुख केदारनाथ पौडेलले मेडिकल कलेज सञ्चालकले बागेश्वरीमा होस्टेल सन्चालन गर्दाको भाडा बापतको ५ लाख भन्दा बढी रकम कार्यालयलाई नबुझाएको बताए ।
उनले भने, ‘तत्काल उक्त रकम नतिरे सञ्चालकलाई पक्राउ गरी रकम असुली गरिनेछ।’ २०६९ असोज देखि पौषसम्मको भाडा बापत ४ लाख ८४ हजार रुपैयाँ नतिरेको बताइएको छ।
कलेजले तिर्ने भनेर सहमति गरेको उक्त रकम कार्यालयको नाममा बेरुजू देखिएको भन्ज्दै महालेखा परीक्षकको कार्यालयले पत्राचार गरेको छ । तर, उक्त रकमका लागि कार्यालयले पटक–पटक पत्राचार गरेपनि सञ्चालकले टेरेका छैनन्।
बन कार्यालयले ८ पटक भाडा वापतको रकम तिर्न ताकेता गरेपनिी कलेज सञ्चालकले चासो नदिएको पौडेलले बताए । उनले भने, ‘अन्तिमपल्ट ताकेता गरेको छौं । अब पनि नतिरे पक्राउ गरी कानुन बमोजिक कारबाही गरिनेछ।’
उनका अनुसार २०५३ सालका ८६ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ। उक्त रकम सहित मेडिकल कलेजले जिल्ला बन कार्यालयलाई ५ लाख ६९ हजार ६ सय ५२ रुपैयाँ तिर्नुपर्ने बताइएको छ ।