काठमाडौं– रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल आँखा अस्पतालले अब अनुसन्धानको क्षेत्रमा काम गर्नुपर्ने बताएका छन्।
नेपाल आँखा अस्पतालको ४४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा रक्षामन्त्री पोखरेलले आँखा अस्पताले अहिलेसम्म गरेका कामको प्रसंसा गर्दै आगामी दिनमा अनुसन्धानमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन्।
नेपाल आँखा अस्पतालले ४४औं स्थापना दिवसका अवसरमा ४४ जना मोतीबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरेको थियो। मन्त्री पोखरेलले शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टि खोलिदिएका थिए।
‘आँखा स्वास्थ्य उपचारको क्षेत्रमा दक्षिण एशियामै नेपाले महत्वपूर्ण सफलता हासिल गर्नुका पछाडि यस संस्थाको महत्वपूर्ण भूमिका छ,’ मन्त्री पोखरेलले भने, ‘आगामी दिनमा यस संस्थाले आफ्नो सेवा प्रवाहको दायरालाई अझ विस्तार गर्दै वृद्धवृद्धा, उपेक्षित र असहायहरुको हितमा केन्द्रित हुने विश्वास लिएको छु।’
अस्पतालका कार्यकारी अधिकृत दमन घले आँखाको बिरामी उपचारबाट बञ्चित नहुन् भनी स्थानीय तहमा सुसूचित गर्ने र उपचार गर्ने काम भइरहेको जानकारी दिएका थिए।
यो प्रक्रियालाई व्यवस्थित गर्नका लागि ‘अप्रेसन आइ साइड क्यानडा’ र नेपाल आँखा अस्पतालको सहकार्यमा सबै ४ वटै केन्द्रमा भिजन सेन्टर स्थापन गर्ने लक्ष्य रहेको घलेले बताए। गत कात्तिक टोखामा भिजन सेन्टर स्थापना गरी सेवा सुरु गरेको र २०७५ सालमा थानकोटमा पनि भिजन सेन्टर स्थापना गर्ने लक्ष्य रहेको घलेले जनाए। साँखु र खोकनामा पनि क्रमशः भिजन सेन्टर स्थापना गरिने घलेले बताए ।
अस्पतालका मेडिकल डाइरेक्टर डा इन्दुप्रसाद ढुंगेलले चार दशकअघिदेखि आँचा जाँच, आँखामा लाग्ने घाउ, चोटपटक, मोतिविन्दु आदि उपचारको शिविरमा केन्द्रित रहेको आँखा अस्पताल अहिले विस्तार भई गहन र जटिल रोगको निदान र उपचारमा देशको रिफरल अस्पतालका रुपमा रहेको बताए।
२०३० सालमा १२ बेडबाट सुरु भएको नेपाल आँखा अस्पताललमा अहिले ९८ बेड छन्। यहाँ प्रत्येक दिन ५ देखि ६ सय बिरामी आँखा जाँचका लागि आउने गर्छन्