काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्नुपर्ने बताएकी छन्।
आगामी आर्थिक वर्षका लागि कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सात वटै प्रदेशका मन्त्री तथा सचिवहरुसँगको छलफल कार्यक्रममा राज्यमन्त्री अर्यालले प्रदेश स्वास्थ्य मन्त्रालय बनाउनुपर्ने बताएकी हुन्।
जनस्वास्थ्यका क्षेत्रमा विगतका उपलब्धिलाई यथावत् राख्दै नयाँ उपलब्धि हासिल गर्न र उपचारको संवैधानिक अधिकारको रक्षाका लागि प्रदेशमा पनि छुट्टै स्वास्थ्य मन्त्रालय बनाउनुपर्नेमा उनले जोड दिइन्।
‘स्वास्थ्य निकै संवेदनशील क्षेत्र भएकाले यसलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत राखेर ओझेलमा पार्नु हुँदैन’, उनले भनिन्, ‘यदि यसलाई छुट्टै मन्त्रालय बनाएर गइएन भने स्वास्थ्यमा ठूलो क्षति हुने खतरा छ।’
कार्यक्रममा उनले तीन वटै तहका सरकारले संविधानले दिएको अधिकार अनुसार आपसमा सहकार्य गरेर काम अगाडि बढाउनुपर्नेमा पनि जोड दिइन्।
‘अहिले हामी नयाँ अभ्यासको चरणमा छौं,’ उनले भनिन्, ‘यस क्रममा केही अन्यौल आउन सक्छ, त्यसकारण राष्ट्रको हितलाई सोचेर काम गर्नुपर्छ।’
कार्यक्रममा ७ वटै प्रदेशका सामाजिक विकास मन्त्री, सचिव र कर्मचारीहरु सहभागी छन्। छलफल मंगलबारसम्म चल्नेछ।