सुर्खेत- कर्णाली प्रदेशसभामा बोल्दै जाजरकोटका सांसदहरुले आफ्नो गृहजिल्लामा औषधि अभाव भएको भन्दै तत्काल औषधिको व्यवस्थापन गर्न सरकार समक्ष माग राखेका छन्।
सरकारले निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने औषधि समेत नहुँदा जाजरकोटवासीले समस्या भोगिरहेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।
शून्य समयमा आफ्नो भनाइ राख्दै सांसद कृष्णा शाहले सरकारले निःशुल्करुपमा उपलब्ध गराउने भनिएका औषधिहरु पनि जाजरकोटमा नपुगेको गुनासो गरिन्। जाजरकोटका जनताले सिटामोल समेत नपाएर छटपटिनुपर्ने दर्दनाक अवस्था रहेको भन्दै उनले औषधि व्यवस्थापनका लागि प्रदेश सरकार र स्थानीय सरकारको ध्यानाकर्षण गराइन्।
त्यसैगरी विशेष समयमा बोल्दै अर्का सांसद गणेशप्रसाद सिंहले सांसदहरुको विशेष समिति बनाएर जाजरकोटमा अनुगमनका लागि पठाउन आग्रह गरे। उनले जाजरकोटका ग्रामीण क्षेत्रमा स्वास्थ्य समस्या बढ्दै गएकोतर्फ ध्यानाकर्षण गराउँदै सिमाटोल समेत नपाउनु दुःखद भएको बताए।