काठमाडौं– कृषि विकास बैंकको ठगी घटनामा नेपाली सेनाको अस्पतालका डा रमेश विष्ट जेल चलान भएका छन्। बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले बिहीबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।
बैंक ठगीमा पक्राउ परेकी दीपिका रेग्मीलाई सघाएको खुलेपछि डा विष्ट विरुद्ध पनि मुद्दा चलेको थियो। सो ठगीमा उनको पनि पत्यक्ष संलग्नता हुनसक्ने देखिएपछि अदालतले पुर्पक्षमा थुनामा पठाएको हो। डा बिष्ट डिल्लीबजार कारागारमा छन्। उनकी प्रेमिका भनिएकी दीपिका पनि हाल पुर्पक्षका लागि जेलमै छिन्।
अदालतको आदेश अनुसार डा विष्ट जेल चलान भएको सैनिक प्रवक्ता सहायक रथी गोकुल खत्रीले बताए।
कृषि विकास बैंकको न्यूरोड शाखामा सहायक टेलरका रुपमा काम गर्ने दीपिकाले अन्तर बैंक हिसाब मिलानका नाममा करिब ५ करोड रुपैयाँ ठगी गरेको बैंकको आन्तरिक छानबिनमा खुलेको थियो। बैंकको जाहेरीका आधारमा सिआइबीले मंसिर १४ गते पक्राउ गरी मुद्दा दायर गरेको थियो। माघ २३ गते उनी जेल चलान भएकी थिइन् ।
दीपिकाले अन्तर शाखा कारोबार हिसाब क्लियरिङ देखाएर बैंकमा हिनामिना गर्दै आएकी थिइन्। जुन घटनामा बैंकका अन्य कर्मचारीको समेत संलग्नता देखिएको थियो। उनले ठगी गरेको ३३ लाख रुपैयाँ डा विष्टको खातामा भेटिएको थियो। सोही आधारमा उनी समेत प्रतिवादी बनेका हुन्।
प्रहरीले पहिलो पटक बहालवाला सैनिक अधिकारी विरुद्ध बैंकिङ कसुर मुद्दा चलाएको छ। डा रमेश विष्ट सेनाका सहायक रथी हुन्। बहालवाला कर्मचारी संलग्न भएका गम्भीर अपराध बाहेक अन्य अपराधमा सैनिक अदालतले नै सजाय तोक्ने प्रावधान छ। तर, सैनिक ऐनमा बैंकिङ कसुर मुद्दाका हकमा प्रस्ट उल्लेख छैन। जसका कारण कसले मुद्दा हेर्ने भन्ने अन्यौल थियो।
छलफलपछि सरकारी वकिल कार्यालयले उच्च अदालतमा फरार प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। गत बिहीबार अदालतमा उपस्थित भएका डा विष्टलाई पुर्पक्षका लागि जेल चलानको आदेश भएको हो। उनीमाथि भ्रष्टाचार मुद्दामा छानबिन गर्न पनि प्रहरीले सेनालाई पत्राचार गरेको थियो। भ्रष्टाचार मुद्दाको क्षेत्राधिकार भने सैनिक अदालतलाई छ।
करिब १ वर्षको अवधिमा कृषि विकास बैंक न्युरोड शाखाबाट ४ करोड ९१ लाख रुपैयाँ हिनामिना भएको सिआइबीका एसपी जीवन श्रेष्ठले बताए। त्यसरी ठगी गरेको रकम बैंककी सहायक टेलर दीपिकाले विदेश घुमेर तथा गहना किनेर सिध्याएको अनुसन्धानमा खुलेको छ।
उनको लकरमा प्रहरीले एक सय ७० तोला सुनका गहना बरामद गरेको थियो। उनलाई गहना बेच्ने बालाजुका सुन पसल सञ्चालक प्रकाश घतानीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ परेका बैंकका शाखा प्रबन्धक प्रेमहरि ढुंगेल, इलेक्ट्रोनिक्स चेक क्लियरिङ शाखाका प्रमुख गोपाल गिरी, कर्जा शाखा प्रमुख महेश्वर मरहठ्ठा र पियन रमेश थापा, बैंकका पूर्व कर्मचारी सलिल रेग्मी धरौटीमा छुटेका छन्।
दीपिकाको ठगीबारे डा विष्ट पहिलेदेखि नै जानकार भएकाले पनि उनलाई जेल चलान गरिएको हुनसक्ने प्रहरी अधिकारीहरु बताउँछन्।