धनगढी- डडेल्धुराको पर्शुराम नगरपालिकाकी २५ वर्षीया लक्ष्मी महरालाई गत असोजमा अचानक ज्वरो आउने तथा टाउको दुख्ने समस्या देखापर्यो। सहनै नसक्ने भएपछि उनले नजिकको स्वास्थ्य चौकी पुगेर सामान्य औषधि लगेर सेवन गरिन्। केही समय ठिक त भयो तर पुनः उही समस्या बल्झियो।
स्वास्थ्य चौकीको औषधिले कुनै काम नगरेपछि लक्ष्मीका श्रीमान् जनक महराले भारतको बरेलीस्थित निजी अस्पतालमा लगेर चेकजाँच गराए।
त्यसपछि पो थाहा भयो– लक्ष्मीलाई त ‘स्क्रब टाइफस’ भएको रहेछ।
आर्थिक अवस्था नाजुक भएका जनकले श्रीमतीको उपचार भारतमा गर्न नसकेपछि गत पुसमा सेती अञ्चल अस्पतालमा ल्याएर उपचार गराइरहेका छन्। टाइफसका कारण स्वास्थ्य अवस्था बिग्रँदै गएकी लक्ष्मीलाई ४५ दिन अस्पतालको आइसियू कक्षमा राखिएको छ।
‘आइसियूमा राख्न सक्ने पैसा नभएपछि ४५ दिनपछि मेडिकल वार्डमा राखिएको छ,’ उनले भने, ‘पैसा अभावकै कारण श्रीमतीको उपचार गराउन सकिएको छैन।’
आइतबार दिउँसो अस्पताल पुग्दा नर्सहरू उनलाई स्याहारिरहेका थिए। लक्ष्मीको स्वास्थ्य अवस्था नाजुक रहेको उनीहरू कुराकानीबाट बुझ्न सकिन्थ्यो। लक्ष्मीको घाँटीमा अहिले समस्या देखिएको छ।
लामो समयदेखि भारत तथा नेपालका विभिन्न अस्पतालमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएको श्रीमान् जनक बताउँछन्।
यसैबीच, लक्ष्मीको उपचारमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आइतबार ९ हजार एक सय रुपैयाँ आर्थिक सहयोग गरेको संघका कैलाली उपाध्यक्ष प्रेमकला सोवले बताइन्।
कसरी हुन्छ टाइफस?
जापानमा स्क्रब टाइफस गराउने किटाणु देखापर्यो, जसलाई सुसुगामी भनिने गरिएको छ। स्क्रब टाइफसको संक्रमण मुसामा पाइने किर्नाका कारण हुने डाक्टर शेरबहादुर कमर बताउँछन्।
ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखिएमा चिकित्सकसँग चेकजाँच गराई औषधि सेवन गरिहाल्नुपर्ने उनी सुझाउँछन्। 'सामान्य सम्झेर हेल्चेक्र्याइँ गरेमा समस्या बढ्न सक्छ। त्यसैले लक्षण देखिनासाथ चिकित्सकलाई देखाइहाल्नुपर्छ,' उनले भने।
यो रोगका बिरामी ३/४ वर्षयता नेपालका विभिन्न स्थानमा देखिन थालेका छन्। सामान्यतया वर्षा सुरु भएपछि बैसाखदेखि असोजसम्म स्क्रब टाइफस देखिने गरेको कैलाली जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाइजर हरिप्रसाद भट्टले बताए।